काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि सैद्धान्तिक छलफल भएको छ ।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस् भनी प्रस्तुत गर्नुभएकाे थियो ।
बैठकमा विधेयकको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरुले मुलुकमा दक्ष जनशक्ति उत्पादन तथा सर्वसुलभ र सहज पहुँचको स्वास्थ्य सेवा विस्तारका लागि विधेयक महत्त्वपूर्ण रहेको बताउनुभयो ।
सांसदहरुले स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकले सङ्घीयताको मर्म अनुरुप सन्तुलित विकास र सबै क्षेत्र, वर्गलाई समेट्ने भन्दै नेपालको चिकित्सा शिक्षालाई अब्बल तुल्याउँदै अन्तर्राष्ट्रिय जनशक्तिलाई आकर्षित गर्ने अवसर समेत भएको बताउनुभयो ।
सांसदहरुले यस विधेयकको परिणामात्मक कार्यान्वयनका लागि पूर्वाधार निर्माण र पर्याप्त बजेट व्यवस्थापनका लागि ठोस योजना बनाइनुपर्ने पनि बताउनुभयो ।
यस्तै बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना सम्बन्धमा बनेको छानविन समितिले तटस्थ र निष्पक्ष रुपमा छानविन गर्ने बताउनुभयो ।
मन्त्री पाण्डेले सांसदहरूको प्रश्नको जवाफ दिनुहुँदै सौर्य एयरलाइन्स दुर्घटनाको सत्यतथ्य छानविन गर्न गठित समिति स्वतन्त्र र तटस्थ रहेकोले निष्पक्ष रुपमा छानविन हुने कुरामा आशङ्का नगर्न आग्रह गर्नुभयो ।
मन्त्री पाण्डले दुर्घटनामा ज्यान गुमाएका १८ जना मध्ये १७ जनाको शव आफन्तले बुझिसकेको पनि सदनमा जानकारी दिनुभयो ।
मन्त्री पाण्डेले दुर्घटनामा मृत्यु हुने एक यमनी नागरिकको शव व्यवस्थापनका लागि नेपालमा यमनको दूतावास नभएकाले नजिकको मुलुकसँग सम्पर्क र समन्वय भइरहेको बताउनुभयो ।
यसअघि बैठकमा सांसदहरुले यही साउन ९ गते भएको विमान दुर्घटना, देशभर बढीपहिरोबाट भइरहेको मानवीय तथा भौतिक क्षति लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसदहरुले सौर्य एयरको विमान दुर्घटनाका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै दुर्घटनाको सत्यतथ्य खोजी गर्न तथा निष्पक्ष छानविन गर्न माग गर्नुभयो ।
सांसदहरुले पछिल्लो दुई वर्षमा ७ वटा हवाई दुर्घटना भएको भन्दै यसको न्यूनीकरणका लागि दुर्घटनाका कारण खोजी गर्नुपर्ने, नियामक निकाय र सेवा प्रदान गर्ने निकाय छुट्ट्याउनुपर्ने बताउनुभयो ।

















