धनगढी । कैलालीमा चार जनामा हैजाको संक्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका(१ का चार जनामा हैजाको संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
हैजाको संंक्रमण पुष्टि हुनेमा ६ र ८ वर्षका दुई बालक तथा २३ र २६ वर्षका दुई युवक रहेको स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठले बताउनुभयो । उहाँले हैजा प्रभावित बस्तीमा परीक्षणका लागी थप नमुना (दिसा) सङ्कलन गरिएको बताउनुभयो ।
दूषित खानेकुरा र पानीको प्रयोगबाट हैजाको संक्रमण हुने भएकाले सरसफाई तथा खानपिनमा विशेष सजगता अपनाउन आवश्यक रहेको स्वास्थ्यकर्मीको भनाई छ ।
यसैबिच सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले हैजाको संक्रमण देखिएपछि उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका निमित्त सचिव गणेश बहादुर सिंहले हैजाको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक काम थाल्न मातहतका सबै निकायलाई परिपत्र गरिएको बताउनुभयो ।

















