काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक एवं समाज रूपान्तरणमा पुराना पुस्ताले पुर्याएको योगदानलाई नयाँ पुस्ताले बिर्सन नहुने बताउनुभएको छ ।
ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा नेत्रप्रसाद गौतमद्वारा लिखित नेत्रका तीन खण्डकाव्य र भूतपिसाचका कथा सङ्ग्रह लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेपालको राजनीतिमा थुप्रै अग्रजको महत्त्वपूर्ण योगदान गरेको स्मरण गर्नुभयो ।
“विगतका योगदानहरूको सम्झना र त्यसको सम्मान गर्ने कुरा आजको नयाँ पुस्ताका लागि कठिन भएको छ,” महासचिव पोखरेलले भन्नुभयो, “हाम्रा अग्रज अर्थात् पुराना पुस्ताले दुःख कष्ट गरेर आजको समाज निर्माण गरेको हो भन्ने कुराको अनुभूति गर्न सकिराखेको छैन ।”
उहाँले आजको नयाँ परिवेशबाट अझ अगाडि बढ्न खोज्दा नयाँ पुस्ताले नेपाल एक समय कस्तो थियो भन्ने कुराको परिकल्पना पनि गर्न नसकेको बताउनुभयो । महासचिव पोखरेलले देश कति परिवर्तन भयो भन्ने कुरा पुरानो पुस्ताको भोगाइलाई पढ्दा थाहा हुने धारणा राख्नुभयो ।
यति बेला समाजलाई सही बाटो देखाउने अध्येताको खाँचो रहेको उल्लेख गर्दै उहाँले अहिले नयाँ पुस्ता कस्तो सांस्कृतिक मान्यताबाट अघि बढ्ने भन्ने अन्योलताको अवस्थामा रहेको बताउनुभयो । नयाँ पुस्ता अहिले जटिल मोडमा उभिएको उहाँको धारणा छ । समाज अराजकतातर्फ प्रवेश गरेको भन्दै महासचिव पोखरेलले यो देशका लागि सबैभन्दा चुनौतीको विषय भएको बताउनुभयो ।
अराजकतातर्फ प्रवेश गरेको समाजलाई विचार, साहित्य र सिर्जनाको माध्यमबाट मात्रै सही दिशामा ल्याउन सकिने उहाँको धारणा छ । आजको नयाँ पुस्तालाई प्रचारवादले प्रभाव पारेको भन्दै महासचिव पोखरेलले समाजलाई स्वच्छन्दतातर्फ लैजान र यसले मौलिक सांस्कृतिक मूल्यमान्यतालाई विघटन गरी मनलाग्दी गर्ने अवस्था सिर्जना हुनेतर्फ सचेत गराउनुभयो ।
कार्यक्रममा उपमहासचिव प्रदीप ज्ञवालीले देशमा केही पनि भएको छैन भन्ने भाष्य निर्माण गर्न एउटा पङ्क्ति लागेको बताउनुभयो । सोचे जति हुन नसकेको भए पनि देश धेरै अगाडि बढेको उहाँको धारणा छ ।
गौतमले लेखेको पुस्तक एकपटक पढ्ने हो भने हिजो हामी कहाँ थियौँ र आज कहाँ आइपुग्यौँ भन्ने कुरा सहजै बुझ्न सकिने उहाँले बताउनुभयो । उपमहासचिव ज्ञवालीले पुस्तकले नेपाल अघि बढेको यात्रा देखाएको जानकारी दिनुभयो ।
लेखक गौतमले आफूले जीवनमा देखे भोगेका कुरा पुस्तकका उतारेको उल्लेख गर्दै नयाँ पुस्ताका लागि पुस्तक पठनीय हुने विश्वास व्यक्त गर्नुभयो ।

















