Friday, November 29, 2024
घरसमाचारनेपाली फिल्म हेर्न अमेरिकी हलमा बालबालिकाको क्रेज

नेपाली फिल्म हेर्न अमेरिकी हलमा बालबालिकाको क्रेज

मेरिल्याण्ड (अमेरिका) । पछिल्लो समय अमेरिकी डायस्पोरामा नेपाली फिल्मको आकर्षण लोभलाग्दो देखिएको छ । अघिपछि काममा ब्यस्त हुने नेपाली सप्ताहन्तमा परिवारसहित हलमा पुग्छन् र मजा लिन्छन् ।

वृद्धवृद्धामात्र होइन, बालबालिका पनि नेपाली फिल्मका मुख्य दर्शक हुन थालेका छन् । जसरी अमेरिकामा नेपाली डायस्पोराको आकार वृद्धि भैरहेको छ, फिल्मको बजार विस्तारको हिसाबले यो सकारात्मक कुरा हो ।

सेभेन सिज वितरण कम्पनीले अमेरिकाभर नेपाली फिल्मलाई बक्सअफिसमा रिलिज गर्दै आएको छ । पछिल्लो समय रिलिज भएका महापुरुष, डिग्री माइला, गाउँ आएको बाटोमा बाल दर्शकको उल्लेख्य उपस्थिती देखियो ।

सेभेन सिजले ३० भन्दा धेरै अमेरिकी सहरमा दयाहाङ राई स्टारर सोसल-ड्रामा ‘गाउँ आएको बाटो’ रिलिज गरेको थियो । फिल्म प्रवर्धनको लागि अभिनेता राई र निर्देशक नवीन सुब्बा पनि हालै अमेरिका भ्रमणमा थिए । जहाँ उनीहरुले हल भिजिट गरे अनि दर्शकसँग भलाकुसारी गरे ।

नियमित शोज र अंग्रेजी सबटाइटलमै नेपाली फिल्म प्रदर्शन भैरहेका छन् । बालबालिकाका लागि सस्तो टिकटको सुविधा भएकाले पनि दर्शक बढेको सेभेन सिजका अमेरिका वितरक प्याट्रिक सुवेदीले बताए । अमेरिकाभर उनको बजारीकरण शैलीको प्रभाव पनि फिल्मको कमाईमा देखिने गरेको छ ।

युट्युव लोकप्रियताको प्रभाव पनि बाल दर्शक वृद्धि हुनुमा कारक रहेको हुनसक्ने सुवेदीको ठम्याइ छ । ‘घरमा बच्चालाई एक्लै छोड्न नमिलेपछि अभिभावक पनि हलमै जान्छन्’ सुवेदी भन्छन्, ‘बक्स अफिस शोले अझै दर्शकमा फिल्म हेर्ने बानीको विकास गरेको छ ।’

‘महापुरुष’को रिलिजको समय अभिनेता हरिवंश आचार्यले अमेरिकामा बालदर्शकलाई भेटे र उनीहरुको प्रतिक्रिया बुझे । बालबालिकाले फिल्म रुचाइएको प्रतिक्रिया हरिवंशले पाए । उनले केही हलमा भिजिट समेत गरेका थिए ।

‘डिग्री माइला’ रिलिजको क्रममा पनि अभिनेता बुद्धि तामाङले हल भिजिट गरेर बालबालिकाको धारणा लिए । बालदर्शकले उनको अभिनय रुचाए । सोही क्रममा उमेरले सय नाघेका वृद्ध दर्शकलाई पनि बुद्धिले भेटे । यसको अर्थ, घरेलु फिल्म हेर्न बालदेखि वृद्ध दर्शकको ताँती हलमा देखिन्छ ।

सेभेन सिजको पछिल्लो रिलिज ‘गाउँ आएको बाटो’मा पनि दयाहाङ राईले हल भिजिट गरेर बाल दर्शकसँग भलाकुसारी गरे । फिल्मको मुख्य पात्र बिन्द्रे पनि बालक भएकैले उनको अभिनयमा नेपाली बालबालिकाले मनोरञ्जन लिएको दयाहाङले बताए ।

रिलिज भएका ठूला फिल्ममा बालबालिकाको समेत अभिनय हुँदा बाल दर्शकलाई हलसम्म आकर्षण गर्न फिल्मले भूमिका खेलेको देखिएको छ । सेभेन सिजका वितरक सुवेदी बालबालिका र वृद्धवृद्धालाई हलसम्म तान्न सक्नु दर्शकीय विविधताको हिसाबले महत्वपूर्ण उपलब्धि भएको बताए ।

महजोडीसँग सेभेन सिज वितरक प्याट्रिक सुवेदी (दायाँ)बाट दोस्रो ।

संस्कृति प्रवर्धन र प्रसारको हिसाबले नेपाली फिल्म हेर्न बालबालिकाको यो क्रेजलाई अर्थपूर्ण रुपमा लिन सकिने अन्तर्राष्ट्रिय कलाकार समाज (इनास) अमेरिकाका अध्यक्ष राहुल केसी बताउँछन् ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -