रौतहट/इँटाभट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलमको मुद्दा आज पनि हेर्दाहेदैमा राखिएको छ।
आलम बिरुद्धको मुदामा सुनुवाई सकिएर अन्तिम फैसला मात्रै आउन बाँकी छ। आज जिल्ला अदालत रौतहटका एक नम्बर न्यायाधीश मातृकाप्रसाद आचार्यको ईजलासमा परेको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो।
मुद्दा हेर्दाहेर्दैमा राखिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार उद्धवप्रसाद ढोडारीले जानकारी दिए। हेर्दाहेर्दैमा राखिएको आलम बिरुद्धको मुद्दा भोलि बिदा परेकोले पर्सि फेरि पेशी चढ्ने उनले बताए।
यस मुद्दामा दुबैतर्फका वकिलले बहस गरेर बहस नोटसमेत बुझाइसकेका छन्।अन्तिम फैसला मात्रै आउन बाँकी रहेको स्थितिमा आलम बिरुद्धको मुद्दा सोमबार पेशी चढेको भए पनि हेर्दाहेर्दैमा राखिएको हो।
०६४ सालको पहिलो संविधानसभा निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो।
विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले आलमसहितलाई प्रतिवादी बनाएर ०७६ साल कार्तिक १८ गते जिल्ला अदालतमा विष्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसूरमा मुद्दा दर्ता गराएका थिए।















