२ वैशाख, काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई सांसद लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीले दाबी पेश गरे ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षका कैलाशलाई नेकपा एमाले र माओवादी केन्द्रका साथै एकजना स्वतन्त्र सांसदको समर्थन छ भने संरक्षक रेशम चौधरी पक्षधरका लक्ष्मणकिशोरलाई नेपाली कांग्रेससँगै एकीकृत समाजवादीको समर्थन छ ।
एउटै पार्टीको दुई सांसदको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री नियुक्त गरेका छैनन् । उनले कानुनी परामर्श गर्ने र आवश्यक परे दुवै पक्षले बहुमत सांसदलाई भौतिक रुपमा उपस्थित गराएर सनाखत गराउनुपर्ने बताएका छन् ।
सनाखत गराएमा कैलाश वा लक्ष्मणकिशोर जसको पक्षमा बहुमत पुग्छ, उही सुदूरपश्चिमको मुख्यमन्त्री बन्न सक्छन् ।
५३ सदस्यीय प्रदेशसभामा बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएकाले हाल ५२ जना कायम छन् । जसमध्ये लक्ष्मणकिशोरको पक्षमा कांग्रेसका १८, एकीकृत समाजवादीका चार र नाउपा रेशम पक्षका ५ जना छन् ।
उनीहरु सबै एक ठाउँमा उभिए बहुमत (२७) मत पुग्नेछ । तर दलको नेता घनश्याम चौधरीलाई निलम्बन गर्ने र कैलाशलाई जिम्मेवारी दिने रञ्जिताको पत्र सभामुखसँग छ । सभामुख भीमबहादुर भण्डारीले त्यसलाई सदर गरेमा कैलाशको पल्लाभारी हुने सम्भावना बढी हुनेछ ।
सुदूरपश्चिममा लक्ष्मणकिशोर वा कैलाश जो मुख्यमन्त्री भए पनि सरकार नाउपाकै नेतृत्वमा बन्ने छ ।
तर आइतबार सुदूरपश्चिममा भएको घटनाले काठमाडौंको सत्ता गठबन्धनमा खटपटको संकेत गरेको छ । किनकि एकीकृत समाजवादी सुदूरपश्चिममा कांग्रेसतिर ढल्किएको छ ।
बालुवाटार बैठकमा के के भयो ?
सुदूरपश्चिममा सरकार गठनका लागि दाबी पेश गर्न प्रदेश प्रमुखले दिएको समय सकिने अन्तिम दिन आइतबार बालुवाटारमा सत्ता गठबन्धनका चार दलको बैठक बसेको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी थिए । बैठकमा नाउपा अध्यक्ष रञ्जिताले मुख्यमन्त्रीमा दाबी गरिन्, अनि प्रधानमन्त्री प्रचण्डसँगै एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिनुपर्ने अवस्था आएको बताए ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने सुदूरपश्चिमको मुख्यमन्त्री आफूहरुले पाउने सहमति भएको स्मरण गराए । साथै प्रधानमन्त्री र एमाले अध्यक्षलाई तपाईंहरुको निर्णय के हो, थाहा पाऊँ भन्दै बैठकस्थलबाट बाहिरिए ।
माधव नेपाल बालुवाटारबाट बाहिरिएको केहीबेरमा सुदूरपश्चिममा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले नाउपाका लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीका लागि पेश गरेको दाबीमा हस्ताक्षर गर्न पुगे ।
आइतबार कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह र लक्ष्मणकिशोर चौधरी मुख्यमन्त्री निवासमा पुगिसकेका थिए । एकीकृत समाजवादीका नेताहरु बालुवाटार बैठकमा के हुन्छ भनेर पर्खिरहेका थिए । बालुवाटारमा सहमति नभएको थाहा पाएलगत्तै लक्ष्मणकिशोरलाई समर्थन गरेर हस्ताक्षर गरे ।
प्रचण्ड र ओलीको परीक्षण
सुदूरपश्चिमको घटनाक्रमबारे एकीकृत समाजवादी नेतृत्वलाई सबै जानकारी छ । तर सञ्चारमाध्यमसँग औपचारिक रुपमा भने जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
किनकि माधव नेपाल सहितका नेताहरु प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली कसरी अगाडि बढ्छन् भन्ने हेर्न चाहन्छन् । एक नेताका अनुसार नयाँ गठबन्धन बनेको डेढ महिनामा प्रचण्ड र ओलीले जे गरेका छन्, त्यसमा एकीकृत समाजवादी असन्तुष्ट छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपाल त सुरुमा नयाँ गठबन्धनमा जान मानेका थिएनन् । प्रधानमन्त्री प्रचण्डले एमालेसँग नयाँ गठबन्धन गर्ने निर्णय लिइसक्दा समेत आफूसँग परामर्श नगरेकोमा उनको चर्को असन्तुष्टि थियो । अनि, कांग्रेस नेताहरुले प्रधानमन्त्रीको प्रस्ताव समेत गरेका थिए ।
माधव नेपाललाई फकाउन प्रधानमन्त्री प्रचण्ड मात्र होइन, एमाले अध्यक्ष ओली पनि उनको निवास पुगे । त्यतिबेला प्रचण्डले कमजोरी भएको स्वीकार गरे, दुवै नेताले आलोपालो प्रधानमन्त्रीमा नेपाललाई राख्ने भावका साथ इक्वेल फुटिङमा चल्ने प्रतिबद्धता जनाए ।
पूर्वप्रधानमत्री झलनाथ खनाल, महासचिव घनश्याम भुसाल लगायतका नेताहरु पनि वाम दलहरु एकठाउँमा आउनुपर्छ भन्ने पक्षमा उभिएपछि अध्यक्ष नेपाल सरकारलाई सघाउन तयार भएका थिए ।
तर विश्वासको मत पाएसँगै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली सल्लाह गरेर निर्णय लिने र आफूहरुलाई साक्षी मात्र बनाउने गरेको एकीकृत समाजवादीका नेताहरुको गुनासो छ । राष्ट्रिय सभा उपाध्यक्ष चयन गर्दा होस् वा सुदूरपश्चिमको मुख्यमन्त्री होस्, सबैमा दुई नेताले त्यही गरेको उनीहरु बताउँछन् ।
एकीकृत समाजवादीलाई समेट्नुअघि नयाँ गठबन्धनका चार दल (एमाले, माओवादी, रास्वपा र जसपा) ले ८ बुँदे सहमति गरेका थिए, जसमा राष्ट्रिय सभा माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । गठबन्धनमा आवद्ध भएपछि एकीकृत समाजवादीले राष्ट्रिय सभा उपाध्यक्षमा दाबी गर्यो ।
राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका बेलामा प्रचण्ड र ओली एकीकृत समाजवादीलाई समेटेर नयाँ सहमति गर्न तयार भए, जसमा माओवादीले राष्ट्रियसभा अध्यक्ष लिने उल्लेख गरिए पनि एमालेले उपाध्यक्ष लिने भन्ने पूर्वसहमति हटाइएको थियो ।
सहमतिअनुसार सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष भए । उपाध्यक्षको विषयमा भने नेताहरुले एकीकृत समाजवादीसँग छलफल गर्न आवश्यक ठानेनन् । प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओली बसेर सहमति गरे, एमालेले बिमला घिमिरेलाई उम्मेदवार बनायो । एकीकृत समाजवादीसामु घिमिरेलाई मत दिनुको विकल्प रहेन ।
सात प्रदेशको सरकारको नेतृत्वको भागवण्डामा एकीकृत समाजवादीले बागमतीमा दाबी गरेको थियो । भागबन्डाको छलफलमा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बागमतीसँगै लुम्बिनीको मुख्यमन्त्री लिए ।
एमालेको भागमा कोशी, गण्डकी र कर्णाली पर्यो, एकीकृत समाजवादीलाई सुदूरपश्चिम दिने समझदारी भयो । आलोपालोमा बागमती प्रदेशमा पनि मुख्यमन्त्री दिने नेताहरुले बताएका थिए ।
तर अरु प्रदेशमा सरकार बनेपछि प्रचण्ड र ओलीले सुदूरपश्चिमको मुख्यमन्त्री नाउपालाई दिने सहमति गरेकाले सहअस्तिवका आधारमा अगाडि बढ्ने दुई नेताको प्रतिबद्धतामा प्रश्न उठेको एकीकृत समाजवादीका नेताहरु बताउँछन् । त्यही कारण आफूहरु सुदूरपश्चिममा कांग्रेससँगै उभिने परिस्थिति बनेको भन्दै एक पदाधिकारी भन्छन्, ‘प्रचण्ड र ओली कसरी आउनुहुन्छ, हामी हेर्छौं ।’