जनकपुरधाम । मिथिलाञ्चल सहित तराई मधेशका जिल्लाहरूमा गृष्म कालमा मनाइने चैते छठ शुरु भएको छ । चैत्र शुक्लपक्ष चतुर्थी तिथिबाट नहा खा गरेर शुरु भएको चैते छठ अन्तर्गत आज खरना विधि रहेको छ ।
चैत्र महिनाको छठ गर्ने व्रतीहरूले आज दिनभरि निराहार बसेर साँझको समयमा सख्खरको खीर, पुरी, सोहारी, केला सहितका परिकारहरू तयार पारेर घरको आँगन वा देउताको घरमा गाईको गोवरले लिपपोत गरेर तयार पारेको चाखो ठाउँमा छठी मैया आह्वान गरेर केलाको पातमा प्रसाद छठी मैलालाई अर्पण गर्ने चलन रहेको छ ।
छठी मैयाँलाई अर्पण गरेको प्रसाद सहितका सामाग्रीहरू सर्वसाधारणलाई वितरण गरेर र व्रत बस्ने ब्रतालुले आफै पनि नुन रहित खरना खाने चलन रहेको छ । आज खरना गरेका व्रतीहरूले षष्ठी तथा सप्तमी तिथिको बिहानको अर्घ सम्पन्न नभएसम्म जल पनि ग्रहण नगरेर व्रत बस्ने चलन रहेको छ ।
चैते छठ अन्तर्गत चोखो ठाउँ तथा भाडा वर्तनको प्रयोग गरेर घरमा नै तयार पारिएको ठेकुवा, भूषसा, उखु, नरिवल, अदुवा, बेसार, केला सहितका फलफूलहरू टपरी, डगरी, कुरुवार, ढकना सहितका वर्तनहरूमा राखेर छैटीमा राखेर घर नजदिकाको पोखरी, तलाउ, नदी, सरोवर सहितको ठाउँमा पुगेर अस्ताउन लागेको सूर्गलाई पहिलो अर्घ दिने कार्यक्रम रहेको छ ।
दोस्रो दिन अर्थात् पर्सी पुनः ती प्रसाद सामाग्रीहरूलाई नै सूर्यको उदाउँदो स्वरूपलाई एक एक गरेर अर्पण गरि छठसम्बन्धी कथा सुनेर पर्वको समापन गरिन्छ । शरद ऋतुको कार्तिकमा मनाइने छठ जस्तै गृष्म कालको ऋतु अर्थात् चैत्र महिनामा मनाइने छठ गर्ने चलन रहेको छ । गर्मी हुने भएकाले यस महिनामा छठ पर्व मनाउन निक्कै कठिन हुने गरेको छ । पानी पनि नखाने मान्यताका कारणले व्रतीहरूलाई उपवास गर्न कठिनाइ हुने गर्दछ ।
छठ पर्व गर्नाले परिवार जनमा शान्ति, समृद्धि, पुत्र प्राप्ति, पुत्रको दीर्घ जीवन चर्म रोग निको हुने वा नलाग्ने जनविश्वास रहेको छ । मिथिलामा वर्षको दुई पटक छठ पर्व मनाए पनि चैते छठ मनाउनेको सङ्ख्या कम रहने गरेको छ । तर विगत केही वर्ष यता चैते छठ गर्ने व्रतीको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।