धुलिखेल (काभ्रेपलाञ्चोक) । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले नागरिकको विकासप्रतिको चाहनालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१०, दोलालघाटमा आजदेखि सुरु भएको चौथो दोलालघाट महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले यहाँको पर्यटकीय क्षेत्रको विकासमा पालिका र नागरिकले चाहना गरेको आयोजनालाई पर्यटन मन्त्रालयका साथै अन्य मन्त्रालयसँगको समन्वयमा सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले सङ्घीय सरकार सधैँ पालिकाको विकास निर्माण लगायतका अन्य सबै कार्यमा साथमा नै रहेको बताउँदै कामको प्रकृतिअनुसार प्रदेश सरकार र स्थानीय सरकारले पनि समन्वय गरेर काम गर्नेमा ध्यान दिन आग्रह गर्नुभयो ।
सांसद गोकुलप्रसाद बाँस्कोटाले भुम्लुलगायत आसपासका क्षेत्रका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजना सपना रहेकाले परियोजनालाई सम्पन्न गर्न सबैका तर्फबाट साथ र सहयोग हुनुपर्ने बताउनुभयो । सो कार्य अगाडि बढाउनका लागि बङ्गलादेश सरकारसँग प्रारम्भिक सहमति भइसकेका कारण अबको १६ वर्षभित्रमा उक्त परियोजना सम्पन्न हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।
“परियोजना सम्पन्न भएपछि यहाँ फेवा तालभन्दा पाँच गुणा ठूलो ताल बन्नेछ”, उहाँले भन्नुभयो, “सन् २०४० सम्ममा यो परियोजना सम्पन्न हुनेछ, त्यसपछि दोलालघाट क्षेत्र बेग्लै पर्यटकीय गन्तव्यको रुपमा विकास भएर यहाँको रूप रङ नै फेरिनेछ ।”
जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतमले जथाभाबी बगरको उत्खननले दोलालघाटको सुन्दरता हराउन थालेको बताउनुभयो । यहाँका नदी किनारका बगरलाई जथाभाबी उत्खनन् गरेर सुन्दरता मेटाउन खोजेको उल्लेख गर्दै उहाँले जिल्ला अनुगमन समितिले नीति बनाएर मात्रै उत्खनन् गर्ने निर्णय गरेकाले अब दोहन रोकिने विश्वास व्यक्त गर्नुभयो ।
भुम्लु गाउँपालिका अध्यक्ष प्रेमबहादुर भुजेलले इन्द्रावती र भोटेकोशी दुई नदीको सङ्गमस्थल भएर पलाञ्चोक भगवती मन्दिर, भीमसेनस्थान र बुद्धपार्क उभिएको भन्दै जसको थप पर्यटकीय प्रवर्द्धनात्मक कार्यले मात्रै यहाँको पर्यटकीयस्थललाई थप उचाइमा पुर्याउन सकिने सम्भावना रहेको बताउनुभयो ।
महोत्सव आयोजक समितिका संयोजक एवं दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लबका अध्यक्ष अष्टबहादुर श्रेष्ठले पर्यटकीय गन्तव्य रहेको दोलालघाटलाई आधुनिकतामा ढाल्ने प्रयास कम भएको बताउनुभयो । यहाँको विकासको लागि तीन वटा नै सरकारको ध्यानाकर्षण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘प्राकृतिक, सांस्कृतिक, कृषि र व्यापार, दोलालघाट पर्यटन प्रवर्द्धन विकासको आधार’ भन्ने नारासहित आजदेखि सुरु भएको महोत्सव आगामी २०८१ वैशाख ३ गते समापन हुनेछ ।
महोत्सवमा आउने पर्यटकलाई विविध सांस्कृतिक कार्यक्रमद्वारा स्वागत गर्ने, सुनकोशी र इन्द्रावतीका स्थानीय माछाका परिकार उपलब्ध गराउनुका साथै र्याफटिङ (बोटिङ), स्वास्थ्य शिविर, धार्मिकस्थलको प्रचारप्रसार, कृषि प्रदर्शनीका स्टल रहने जनाएको छ ।
साथमा नयाँ वर्ष विशेष कार्यक्रम, निर्माणाधीन बुद्धपार्क तथा दृश्यावलोकन स्तम्भ अवलोकन, भुम्लु गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने मुख्य सोच रहेको आयोजकले जनाएको छ । रासस