काठमाडौँ । सङ्घीय संसद्को सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काँग्रेसले उपनिर्वाचनको लागि पार्टीको उम्मेदवार टुङ्गो लगाएको छ ।
पार्टीका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज बसेको पार्टी संसदीय बोर्ड र कार्यसम्पादन समितिको बैठकले इलाम–२ र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा हुन लागेको उपनिर्वाचनमा पार्टीका तर्फबाट उठाउने उम्मेदवारको टुङ्गो लगाएको हो ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले इलाम क्षेत्र नं २ मा डम्बरबहादुर खड्का र बझाङ क्षेत्र नं १ प्रदेश ‘क’ मा अभिषेकबहादुर सिंहको नाम टुङ्गो लगाएको जानकारी दिनुभयो । काँग्रेसले आगामी वैशाख १५ गते सम्पन्न हुने उपनिर्वाचनमा इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को लागि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३२(८) बमोजिम खड्का र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को लागि विधानको धारा ३२ ९७० बमोजिम सिंहलाई उम्मेदवार बनाएको हो ।
काँग्रेसले उपनिर्वाचनमा पार्टीको उम्मेद्वारद्वय खड्का र सिंहलाई ‘रूख’ चिह्नमा अत्यधिक मत दिएर विजयी गराउन मतदातालाई आह्वान गरेको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले चैत २४ गते उम्मेदवारको मनोनयनपत्र दर्ताको समय तोकेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका पार्टीले आफ्नो उम्मेदवार यसअघि नै तोकिसकेका छन् । रासस