Thursday, July 25, 2024
घरसमाचारनेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्‍याउन आवश्यक : परराष्ट्रमन्त्री श्रेष्ठ

नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्‍याउन आवश्यक : परराष्ट्रमन्त्री श्रेष्ठ

ललितपुर । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ । 

ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा जावलाखेलमा आजदेखि सुरु भएको पाँच दिने ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्पो’को उद्घाटन समारोहमा  परराष्ट्रमन्त्री श्रेष्ठले संविधानसभाबाट जारी संविधान संस्थागत भएको उल्लेख गर्दै अहिले कार्यान्वयनको चरणमा रहेको र अबको मुख्य काम देशको आर्थिक सामाजिक विकासलाई फड्को मारेर लक्ष्यमा पु¥याउनु नै रहेको बताउनुभयो ।

File Photo

“सरकार र निजी क्षेत्र मिलेर तीव्र विकास गरेर आर्थिक समृद्धि हासिल गर्नु छ । हामीले हाम्रो सम्भावनालाई राम्रोसँग प्रयोग र सदुपयोग गरेर राजनीतिक लक्ष्य हासिल गर्नुछ । अहिले परराष्ट्र सम्बन्धमा आर्थिक कूटनीतिलाई महत्वपूर्ण बनाएर अगाडि बढिरहेका छौँ,” परराष्ट्रमन्त्री श्रेष्ठले भन्नुभयो । आर्थिक सहयोगात्मक सम्बन्धलाई कसरी विस्तारित गर्ने र सम्भावनालाई पहिचान गर्दै नेपालको आर्थिक विकासलाई केन्द्रमा राखेर काम गरिरहेको उहाँको भनाइ थियो ।

परराष्ट्रमन्त्री श्रेष्ठले एक्सपोले ऐतिहासिक महत्व राख्ने उल्लेख गर्दै सिङ्गो राष्ट्रको उद्योग व्यवसायको विकास र विस्तारमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । अहिले देशको राष्ट्रिय कार्यभार आर्थिक समृद्धिको कार्यभार भएको भन्दै उहाँले स्वाधीन, स्वतन्त्र र सुन्दर नेपाललाई अब समृद्ध बनाउने कुरामा केन्द्रित रहनुपर्नेमा जोड दिनुभयो ।

नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीले एक्सपोले नेपाल र ललितपुरलाई मात्रै नभएर सहभागी राष्ट्रहरूलाई पनि सहयोग पु¥याएको बताउनुभयो । उहाँले यो एक्सपोले सहभागी देशका साना तथा मझौला उद्योगलाई प्रोत्साहित गर्दै औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

बागमती प्रदेशका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले आर्थिक मन्दीको अवस्थालाई चिर्दै व्यावसायिक, औद्योगिक क्षेत्र चलायमान हुँदै गएको अवस्थामा आर्थिक क्षेत्रमा एक्सपोले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । बागमती प्रदेशले हस्तकलासम्बन्धी विधेयकका लागि अन्तिम तयारी गरिरहेको उल्लेख गर्दै उहाँले ललितपुरलाई हस्तकलाको राजधानी बनाउनेमा आफ्नो प्रयास रहेको बताउनुभयो । 

नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले मुलुकभित्रको आर्थिक क्रियाकलापले अन्तर्राष्ट्रिय व्यापारिक समुदायसँग सहकार्य भई उद्यमी व्यवसायीको क्षमता विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलाबाट नविनतम् प्रविधि र व्यापारलाई प्रोत्साहन गर्न सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । निजी क्षेत्रको शिथिलतालाई ध्यानमा राखेर आगामी बजेट ल्याउन कार्यवाहक अध्यक्ष अग्रवालले आग्रह गर्नुभयो ।

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरमा उत्पादित काठबाट बनाइएका कलाकृति, मूर्ति, कार्पेट, कपडा र परालबाट बनेका सामानको जीवन्त प्रदर्शनी मेलाको मुख्य आकर्षण भएको बताउनुभयो । ऐतिहासिक धरोहर अमूर्त सम्पदा र कलाकृतिको प्रदर्शनीका साथै मित्र राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश, टर्की, मलेसियालगायतमा निकासीयोग्य सामान एवं दैनिक उपभोग्य सामान र खानाको कक्ष रहेका उहाँले जानकारी दिनुभयो । रासस

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -