२१ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव टंकलाल घिसिङले सन् २०२६ को एसियाली खेलकुदमा स्वर्ण पदकसहित कम्तीमा १० वटा पदक जित्ने लक्ष्य रहेको बताएका छन् ।
राखेपको वार्षिक उत्सव कार्यक्रममा उनले मिसन २०२६ सुरु गरेको भन्दै स्वर्ण पदक र कम्तीमा १० पदक जित्ने लक्ष्य सुनाएका हुन् ।
उनले खेलाडीले खेलेर के पाइन्छ भन्ने प्रश्नको अन्त्य गर्दै ओलम्पिकमा स्वर्ण जित्ने खेलाडीलाई १ करोड ३० लाख रुपैयाँ पाउने गरी कानुनी व्यवस्था नै गरिएको बताए ।
‘हामीले यो पुरस्कार रकम घोषणा गरेको पहिलो वर्ष भएकाले पुरस्कार रकम उपलब्धताका लागि केही समय लाग्ला तर कानुन बनेपछि कार्यान्वयन पक्कै हुनेछ’, उनले भने ।
सदस्य सचिव घिसिङले आफूहरुले नेसनल ट्रेनिङ सेन्टरको पूर्वाधार निर्माणमा बढी प्राथमिकता दिएको पनि बताए । ‘नेशनल ट्रेनिङ सेन्टर सबै खेलका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । उचित आहार र बसोबास सहित अगाडि लान सकेमा मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिन्छ’ उनले भने ।
उनले मन्त्री निवास भैंसेपाटीमा तयार भइरहेकाले खाली हुँदै गरेको पुल्चोकको मन्त्री क्वार्टरलाई खेलाडी आवासमा परिणत गर्ने प्रस्ताव गरेको सुनाए ।
सदस्य सचिव घिसिङले १० औं राष्ट्रिय खेलकुदको पनि तयारी राम्रो भएको बताए । विद्यालयस्तरमा खेलकुदको पाठ्यक्रमको अनिवार्य पठनपाठनको लागि राखेपले जोड दिएको उनले बताए ।