Sunday, April 21, 2024
घरसमाचारराष्ट्रिय जीवनसँग जोडिएका अहम् सवालमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : मन्त्री शर्मा

राष्ट्रिय जीवनसँग जोडिएका अहम् सवालमा रेडियो नेपालको भूमिका महत्वपूर्ण : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय जीवनसँग जोडिएका अहम् सवालमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । सिंहदरबारमा आज आयोजित रेडियो नेपालको ७४ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गनुहुँदै मन्त्री शर्माले शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्‍याउने देखि संविधान निर्माण ,भूकम्प, कोभिड संक्रमण रोकथाम, सतर्कता र सजगताको सन्देश र सूचना प्रवाह गर्ने कार्यमा रेडियो नेपालको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
मन्त्री शर्माले जनताका आशा र अपेक्षालाई सरकारसम्म र सरकारका महत्वपूर्ण निर्णयहरूलाई जनतासम्म पुर्‍याउन रेडियो नेपालले खेलेको भूमिका उच्च रहेको बताउनुभयो ।

मन्त्री शर्माले हिमाल, पहाड र तराईलाई जोड्दै बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक देशको मूल्यलाई आत्मसात गर्दै रेडियो नेपाललाई अझ मजबुत, सशक्त र सार्थक बनाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।मन्त्री शर्माले बदलिँदो समय र राष्ट्रिय दायित्व समेतलाई हेरेर प्रविधिको विकास, रूपान्तरण र मल्टिमिडिया युगको आवश्यकता अनुरुप रेडियो नेपाललाई थप सुदृढ र परिमार्जन गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकीकृत गरी सार्वजनिक प्रसारक बनाउन सरकारले संसदमा विधेयक पेश गरिसकेको जानकारी दिनुभयो ।समारोहमा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुबेदीले सत्य, तथ्य र सन्तुलित समाचार तथा लोक संस्कृति, विकास निर्माण, जनचेतना र समसामयिक विषयमा आधारित कार्यक्रम र समाचार प्रसारण गर्नु रेडियो नेपालको पहिचान भएको बताउनुभयो ।

सचिव सुबेदीले सुशासन र समृद्धिमा केन्द्रित भएर समाचार र कार्यक्रमको माध्यमबाट श्रोताहरूको रुचि,इच्छा र आवश्यकता अनुसार आफ्नो प्रविधि,प्रसारण सामग्री र प्रस्तुतिमा परिवर्तन गर्दै जानुपर्ने बताउनुभयो ।
समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालको प्रसारण सामग्रीलाई समावेशी चरित्रसहित लोकप्रिय र जनमुखी बनाउन प्रसारण पहुँच वृद्धिका साथै विषय वस्तु उत्पादन र प्रसारणमा नवीनता र जीवन्तता प्रदान गरेको बताउनुभयो

कार्यकारी निर्देशक केसीले रेडियो नेपालले मुलुकका सबै भाषा र संस्कृतिको संरक्षण र विकासका लागि निरन्तर प्रयास जारी राखेको भन्नुहुँदै रेडियो नेपालबाट विभिन्न २२ वटा भाषामा समाचार र २१ भाषामा कार्यक्रम प्रसारण गरिरहेको बताउनुभयो ।
समारोहमा यस वर्षको रेडियो नेपाल स्रष्टा सम्मान वरिष्ठ प्रसारक शान्ता श्रेष्ठ र वरिष्ठ गीतकार, गायक तथा सङ्गीतकार काशीराम बुढामगरलाई प्रदान गरिएको छ ।

स्रष्टा द्वय श्रेष्ठ र बुढा मगरलाई जनही ५१ हजार एक रुपैयाँसहित सम्मानपत्रले सम्मान गरिएको हो ।
यस्तै समारोहमा, रेडियो नेपाल सञ्चालक समितिका पूर्व अध्यक्षहरू महेन्द्रमान गुरुङ, दिपक सुबेदी, हरिप्रसाद बस्याल, डा. बैकुण्ठ अर्याल, र कृष्णबहादुर राउतका साथै पूर्व कार्यकारी निर्देशकहरू मुकुन्दप्रसाद आचार्य, गीता प्रसाद खनाल, तपनाथ शुक्ल र रामशरण कार्की र सुरेशकुमार कार्कीलाई सम्मान गरिएको छ ।

यसैगरी, समारोहमा रेडियो नेपालद्वारा आयोजित आधुनिक सङ्गीत प्रतियोगिताका विजयीहरूलाई पुरस्कार तथा प्रशंसापत्र वितरण गरिएको छ ।
रचनातर्फ उत्कृष्ट दाबा तामाङ, सङ्गीततर्फ उत्कृष्ट ज्योति प्रकाश, गायनतर्फ पहिलो हुने मिलन परियार, दोस्रो हुने समिर परियार र तेस्रो हुने लेखराज ढकाललाई नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरियो ।
यस्तै उत्कृष्ट गायन तर्फका विशाल श्रेष्ठ, सम्भव थापा, मधु सेञ्चुरी, पुनम गुरुङ र दिनेश सुवेदीलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।
समारोहमा मन्त्री शर्माले आधुनिक सङ्गीत प्रतियोगिताका निर्णायकहरू वरिष्ठ सङ्गीतकार मुरली धर, वरिष्ठ गायिका लोचन भट्टराई, वरिष्ठ गीतकार माइला लामा र छनौट चरणका निर्णायकहरू वरिष्ठ गायिका बिमला राई र वरिष्ठ जनवादी कलाकार चिरन पुनलाई कदर पत्र प्रदान गर्नुभयो ।समारोहमा मन्त्री शर्माले रेडियो नेपालको मुखपत्र झङ्कारको विमोचन गर्नुभयो ।

त्यस्तै, रेडियो नेपालमा २५ वर्ष सेवा गर्नुभएका १९ जना कर्मचारीलाई दिर्घसेवा पदक प्रदान गरिएको छ ।समारोहमा उत्कृष्ट कर्मचारीहरू रामकाजी आचार्य, मनराज नकर्मी, शेरबहादुर गुरुङ र रघु चौधरी एवं उत्कृष्ट स्थानीय संवाददाता राजेन्द्र मिजार बाजुरालाई पुरस्कृत गरिएको छ ।त्यस्तै, वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न अतिरिक्त क्रियाकलापमा पहिलो स्थान प्राप्त गर्ने कर्मचारीहरू सरिता खनाल,बेन्जु सुबेदी, भगवती ज्ञवाली, विद्याप्रसाद उपाध्याय र दिपक जोशीलाई पुरस्कार प्रदान गरिएको छ ।

साभार लिंक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -