Friday, April 12, 2024
घरसमाचारबाटो नहुँदा चमेरे गुफा ओझेलमा

बाटो नहुँदा चमेरे गुफा ओझेलमा

दाङ । तुलसीपुर उपमहानगरपालिका–४ मुलकोटमा रहेको सिद्ध चमेरे गुफासम्म पुग्नका लागि मोटर बाटो सहज नहुँदा र प्रचारप्रसार अभावका कारण गुफा ओझेलमा परेको छ ।

करिब साढे दुई दशक पहिले पत्ता लागेको प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके बाह्य तथा आन्तरिक पर्यटकको प्रवद्र्धन हुने स्थानीयको भनाइ छ । चारतिर जङ्गल रहेको र सोही जङ्गलसँगै विकट स्थानमा पहाडको फेदमा रहेको गुफा तथा चारैतिर हरियाली स्वच्छ मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । त्यति राम्रो दृश्य तथा गुफा अवलोकनका लागि जाने पर्यटक पैदल हिँडेर जानुपर्ने बाध्यता छ ।

चमेरे गुफासम्म पुग्नका लागि सामान्य कच्ची बाटो पुगेता पनि पर्याप्त रुपमा त्यसको विकास हुन नसक्दा गुफाको अस्तित्व नै सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता बढेको स्थानीय बताउँछन् । तुलसीपुर–४ की ४५ वर्षीया भावना गौतमले चमेरी गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा अहिले सो क्षेत्रमा आउने आन्तरिक पर्यटकको सङ्ख्या न्यून रहेको बताउनुभयो । उहाँले यसको विकासमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसले गाउँको मुहार फेरिने बताउनुभयो ।

तुलसीपुर बजारदेखि करिब १२ किलोमिटरको दूरीमा रहेको यस गुफाको प्रचारप्रसार र संवद्र्धन गर्न सके पर्यटकीय स्थलका रुपमा विकास गर्ने सकिने यहाँका जानकारको भनाइ छ । प्राकृतिक रुपमा रहेको गुफाको संरक्षण र यसलाई दिगो विकास गर्ने सके दाङको मुख्य पर्यटकीय क्षेत्रका रुपमा विकास हुने बताइएको छ ।

हाल गुफामा दैनिक रुपमा ३० देखि ४० सम्म सर्वसाधारण अवलोकनका लागि आउने गरेका छन् । तीन तला रहेको उक्त गुफासम्म पुग्नका लागि यसअघि साबिकको जिल्ला विकास समिति दाङ, तुलसीपुर उपमहानगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको आर्थिक सहयोग तथा स्थानीयको सक्रियतामा गुफासम्म पुग्ने कच्ची बाटो, यात्रु प्रतीक्षालय, चमेना गृह तथा अन्य केही संरचना निर्माण भए पनि गुफाको पर्याप्त विकास तथा पक्की मोटरबाटो बन्न नसको स्थानीयको भनाइ छ ।

गुफाभित्र विभिन्न देवीदेवता, शेष नाग र बाघको स्वरूप पनि देखिने भएकाले गुफाको अवलोकन गर्ने जो कोही पनि चकित पर्ने गर्दछन् । गुफाको बाहिरी भाग र भित्री भागमा ती स्वरूप देख्न सकिन्छ । गुफामा विभिन्न तीन तह रहेका छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरूप देख्न पाइन्छ ।

बाहिरबाट हेर्दा पहाड र त्यसभित्र अवस्थित चमेरे गुफामा चमेरा बस्ने भएका कारण यसको नाम चमेरे गुफा रहन गएको जानकार बताउँछन् । विसं २०५२ मा पता लागेको भए पनि गुफा कसले र कसरी पता लगायो भन्नेबारे सबै अनभिज्ञ रहेका छन् । जानकारहरू भने भिरमा घाँस काट्न जाँदा पत्ता लागेको बताउँछन् ।

गुफासम्म पुग्न बाटोमा सिँढी पनि निर्माण गरिएको छ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यान सडकखण्डको हर्नेटीसम्म पक्की छ । हर्नेटीबाट भने गुफासम्म पुग्न चार किलोमिटर कच्ची तथा साँघुरो सडक हुँदा बर्सातको समयमा यातायातका साधन चल्न नसके पनि हिउँदको समयमा साना सवारी साधन जाने गरेकाले पर्यटकहरूको सङ्ख्यामा कमी आएको स्थानीय बताउँछन् । यसको विकास भए दाङको पनि विकास हुने भन्दै स्थानीय सरोकारवाला निकायलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सहयोग गर्नुपर्ने बताउँछन् ।

सिद्ध चेमेरे गुफा संरक्षण समितिका अध्यक्ष भूपबहादुर पुनले गुफासम्म पुग्ने चार किलोमिटर बाटो साँघुरो र कच्ची हुँदा अवलोकन गर्ने आउने पर्यटकलाई कठिनाइ हुने गरेको बताउनुभयो । कतिपय पर्यटक पैदल हिँड्नु परेपछि बिचै बाटोबाट फर्कनुले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा कमी आएको छ । उहाँले भन्नुभयो, “केही दिनअघि बर्दियाबाट गुफा अवलोकनका लागि बसमा आएको एक टोली बाटो साँघुरो भएका कारण बस जान नसक्ने भएपछि हर्नेटीबाट फर्केको छ ।” यसको विकासका लागि सबै लाग्नुपर्ने अध्यक्ष पुन भन्नुहुन्छ । चमेरे गुफासम्म पुग्ने बाटो निर्माण गर्नका लागि बजेटको व्यवस्था गरिदिन पटक पटक लुम्बिनी प्रदेश सरकार तथा उपमहानगरपालिकामा ध्यानाकर्षण गराउँदा कुनै सुनुवाइ नभएको अध्यक्ष पुन बताउनुहुन्छ ।

चमेरे गुफालाई पर्यटकीय केन्द्रका रुपमा विकास गर्नका लागि गुफाभित्र बिजुली, सिम्ढी, बाहिर प्रतीक्षालय, शौचालय, चमेना गृह पनि निर्माण गरिए पनि मुख्य बाटो सहज नहुँदा सास्ती हुने गरेको छ । हाल संरक्षण समितिले चमेरे गुफा अवलोकनका लागि प्रतिव्यक्ति रु २० लिने गरेको छ । त्यसबाट सङ्कलित रकम गुफाको विकासमा लगाइँदै आएको छ ।

यसैबीच, वडा नं ४ का वडाध्यक्ष तुल्सीथापा मगरले चमेरे गुफा संरक्षण र संवद्र्धन गर्नका लागि आफूले पनि पहल गरिरहेको बताउनुभयो । “चमेरे गुफा आफ्नो वडाको गहनाका रुपमा लिएका छौँ, यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना रहेको छ तर बजेट अभावका कारण पक्की बाटो निर्माण गर्न सकेका छैनौँ”, वडाध्यक्ष थापाले भन्नुभयो । उहाँले उपमहानगरपालिका, प्रदेश सरकार तथा केन्द्रीय सरकारसँग बाटो निर्माणका लागि बजेट माग गरिरहेको जानकारी दिनुभयो । उपमहानगरपालिकाले भने यस वर्ष चमेरे गुफाका लागि कुनै बजेट विनियोजन गरेको छैन । सन् २०११ मा चमेरे गुफामा स्थानीयको सहयोगमा महोत्सव पनि आयोजना गरिएको थियो । सो अवधिमा धैरै सङ्ख्यामा पर्यटकले गुफाको अवलोकन गरेका जनाइएको छ ।
रासस

साभार लिंक

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments