काठमाडौं। प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप भएको बताएका छन्।
प्रधानमन्त्री दाहालले गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको बताउँदै गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति नबनाउँदा आफूबाट गल्ती भएको बताएका हुन्। गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्तावलाई अघि बढाउने उनको भनाइ छ।
गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा सोमबार चावहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले भने, ‘मैले गणतन्त्र नेपालको पहिलो राष्ट्रपति प्रस्ताव गर्नुपर्थ्यो। तर मैले सकिनँ। मैले प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाबाबुले पटक पटक राजीनामा नदिनुस् भनिराख्नुभयो।’
‘अस्पतालमा उहाँ मृत्युसँग जुधिराख्नुभएको थियो। मलाई बोलाएर समाल्नु देश भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति आस्था, विश्वास भइराख्यो,’ उनले भने, ‘उहाँको निधन भइसक्यो। शान्ति र संविधानको रक्षा गर्ने कुरामा मेरो जिम्मेवारी र दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिजा नै हो।’
फरक प्रसंगमा प्रधानमन्त्री दाहालले प्रचण्डले वाम एकताको कुराबाट कांग्रेस तरंगित हुननपर्ने बताए। उनले कम्युनिष्टहरुबीचको एकताले कांग्रेस तरंगित हुनुनपर्ने र कांग्रेससँग सम्बन्धमा पनि कुनै दरार नआउने बताए।
कांग्रेस र कम्युनिष्ट मिलेर हालसम्मका राजनीतिक उपलब्धि हात पार्न सकेको भन्दै उनले कांग्रेससँगै मिलेर ति राजनीतिक उपलब्धिको रक्षा गरिने बताए। काकंग्रेसँग मिलेर नै गणतन्त्रको रक्षा, शान्तिप्रक्रियाको कार्यभार पूरा गर्दै देशलाई समृद्धिमा लैजाने प्रधानमन्त्री दाहालको भनाइ छ।