वीरगंज/ वीरगंजको मुख्य भंसारस्थित मितेरी पुल नजिकै सशस्त्र प्रहरी बल नेपालको टोली अत्याधुनिक हतियार एवं दलबल सहित खटिएका हुन्छन् उनीहरूले भारतीय सीमावर्ती शहर रक्सौलबाट आउने प्रत्येक यात्रीलाई एक एक गरेर चेक जाँच गरि मात्र नेपाल प्रवेश गर्न दिने गरेका छन् त्यसपछि भंसारको मुख्य गेटमा पनि ढाड राखेरै अत्याधुनिक हतियारसहितका सशस्त्र प्रहरी टोलीले त्यसरी नै यात्रुहरूलाई एक एक गरि चेक जाँच गरि वीरगंज जाने अनुमति दिन्छन्।
सशस्त्र प्रहरीले पाँच सय मीटरभित्रै दुई ठाउँमा गर्ने यस्तो चेक जाँच र खान तलासी तस्कर र कालो बजारीयाहरूकलागि नभई सर्वसाधारणहरुले घर खर्चका लागि सीमावर्ती क्षेत्र रक्सौलबाट आउँदा चेक जाँचको बहानामा दुःख दिने नियतले गरेको प्रष्ट त्यतिबेला हुन्छ जतिबेला सशस्त्र प्रहरीको यी दुई चेकजाँचको घेरा पार गरि भित्रिएका भन्सार राजस्व छलिका सामान नेपाल प्रहरले अर्को १००मीटरकै दूरीबाट नियन्त्रणमा लिन्छ।
यस्तै बिहीबार पनि भएको छ, सशस्त्र प्रहरीको दुई चेक जाँचको घेरा पार गरि भित्र्याइएका झण्डै ६ लाख बढ़ीका सामान नेपाल प्रहरीले नियंत्रणमा लिएको छ।
बिहीबार राती अं.०९:३० बजेको समयमा वीरगंज-१६ रजतजयन्ती चोकस्थित सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी वीरगंजतर्फ भित्र्याउँदै गरेको विभिन्न किसिमका लत्ताकपडा तथा हार्डवेयर एवं मोटर पार्टसका सामानहरू जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीलाई देख्नासाथ बोकी ल्याएको अपरिचित व्यक्तिहरू आफ्ना मालबस्तुहरू छाडी भागी फरार भएकोमा उक्त सामानहरू वेवारिसे अवस्थामा बरामद गरी छ लाख १२ हजार पचास रुपैयाँ बराबरको मालबस्तुहरू नियन्त्रणमा लिई आवश्यक कारवाही कालागि शुक्रबार वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताउनु भयो ।
शान्ति सुरक्षा र कानून परिपालनाको जिम्मा पाएका नेपाल प्रहरीले तस्करी नियन्त्रणमा पनि अग्रणी भूमिका खेल्दै जानु तर अत्याधुनिक हतियार एवं बन्दोवस्तीका सामान सहित सीमा क्षेत्रमा परिचालित सशस्त्र प्रहरीकै संरक्षणमा पर्साको मूख्य भन्सारलगायतका नाकाहरूबाट निर्लज्जतापूर्वक तस्करहरूले तस्करी कार्य संचालन गरिरहेको देख्दा स्थानीयहरू तीन छक्क परेका छन् ।
सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले भ्रष्टाचारमा शून्य सहनशीलताको नारा दिए पनि पर्सालगायतको सीमावर्ती क्षेत्रबाट भैरहेको तस्करी धन्दाले महानिरीक्षक अर्यालको नारालाई गिज्याइरहेको भान भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले सीमा सुरक्षा एवं तस्करी नियन्त्रणमा कुनै सम्झौता नगर्न भनि मातहतका अधिकारीहरूलाई दिनु भएको निर्देशनलाई पर्साका सशस्त्र प्रहरी बलले रद्दीको टोकरीमा फालेर तस्करहरू सामु आत्मसमर्पण नै गरेका विभिन्न घटनाक्रमले उजागर हुन थालेका छन् ।
बोर्डर आउट पोष्ट वीरगंज भन्सार क्षेत्र सीमाभित्र रहेका वीरगंज भन्सारको मूख्य गेट, पछाडी बाँसघारी, इनर्वा गाउँ लगायतका नाकाहरू तस्करले नै कब्जामा लिएर कपडा, हार्डवेयर, इलेक्ट्रिक समान, खाद्यान्न, काजु, मोटर पार्टस्लगायतका सामानहरू मात्र नभई तस्करहरूले चाँदीका गर गहना, हुण्डीको रकम समेत अवैध रुपमा नेपाल भित्र्याइरहेको जोकोहीले पनि देख्न सक्छन् ।
यी सीमा क्षेत्रबाट मूख्यरुपमा भारतीय कुख्यात तस्कर मुख्तार मियाँले सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी, प्रदेश प्रहरी कार्यालय लगायत जिल्लास्थित जिम्मेवार निकायलाई प्रभावमा पारेर खुल्लेयाम तस्करी गरिरहेको स्रोतले जनाएको छ ।
मुख्तारले एक जना भूपू प्रहरी एवं करिब आधा दर्जन साना तस्करहरूलाई साथमा लिएर दर्जनौंको संख्यामा पैदल भरिया, साइकल, मोटरसाइकललगायत अटो रिक्सामा सीमावर्ती भारतीय क्षेत्रबाट भन्सार राजस्व छलि गरी सामान भित्र्याउने गरेका छन् ।
मुख्तारलगायत अन्य तस्करहरूले हाकाहाकी तस्करी गर्दा वीरगंज भन्सारको राजस्व असुली कम हुँदै गएपछि देशको अर्थतन्त्र समेत संकटमा परेको अवस्थाबारे सशस्त्र प्रहरीका नायब महानिरीक्षक दिपेन्द्र शाहलाई सूचना हुँदा पनि तस्करी नियन्त्रण हुनुको सट्टा झन बढ्दै जानुले तस्कर समूहको प्रभाव कहाँसम्म रहेछ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ ।
गत आइतवार दिउँसै मोटरसाइकलमा लोड गरी गमबेस भित्र्याइएको खबर सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाह कहाँ पुगेपछि वीरगंज भन्सारस्थित सशस्त्र प्रहरीले त्यो सामानलाई नियन्त्रणमा लिएपनि परिवर्तन गरी नाटकीय ढंगले त्यो सामानलाई चुना भनेर भंसार कार्यालयमा बुझाएका छन् ।
संचारकर्मीको जिज्ञासामा बिओपी वीरगंज भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामजंग पाण्डेले डिआइजी साबको आदेश आएपछि तत्कालै नियन्त्रणमा लिन खोज्दा उक्त मोटरसाइकल फिर्ता गएर पुन: आएपछि नियन्त्रणमा लिंदा चुना फेला परेको बताए । तथापि तस्वीर र भिडियोको प्रकृति हेर्दा कुनै पनि कोणबाट चुनाजस्तो नदेखिने प्रष्ट छ । सोही प्रकृतिका सामानहरू विहीबार पनि दुई वटा मोटरसाइकलमा वीरगंज भन्सारको मूख्य गेटबाटै भित्रिएको दृश्य देखिएको छ ।