वीरगंज/तस्करी साम्राज्यका माफिया एवं गिरोहहरूले तस्करी नियन्त्रणमा खटिएका प्रमुख जिम्मेवार निकाय सशस्त्र प्रहरीलाई मागेजति भेटि चढाएपछि जति विरोध भएपनि तस्करी नियन्त्रणमा आउन सकेको छैन ।
काँग्रेस सरकारको पालामा हुने संस्थागत तस्करीलाई पनि पछाडी पार्नेगरी यतिखेर मधेश प्रदेशका विभिन्न जिल्लामा खुल्ला रुपमा भैरहेको देख्दा सीमा क्षेत्र तस्करकै नियन्त्रणमा रहेको भान हुन थालेको छ ।
देशकै सबभन्दा बढी भंसार राजश्व उठ्ने ठाउँ वीरगंज भन्सारमा राजश्व असुली दिनानुदिन गिर्दो अवस्थामा छ, तर सशस्त्र प्रहरीकै संरक्षणमा भने तस्करी धन्दा नियन्त्रणभन्दा बाहिर छ । वीरगंज भन्सार मूख्य गेटबाटै दैनिक रुपमा भइरहेको तस्करीबारे सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मूख्यालयका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिपेन्द्र शाहलाई जानकारी सीमा नाकाबाट हुने तस्करीबारे जानकारी हुँदा पनि त्यसमा कुनै कमी आउनुको सट्टा झन बढ्दै जानुले तस्करको जालो र प्रभाव सशस्त्र प्रहरी बलको डिआइजीसम्म रहेको स्पष्ट हुन्छ ।
पर्साको मूख्य नाका वीरगंज भन्सार, त्यसको पछाडीको बाँसघारी, इनरवा गाउँ, छपकैयाँ, सिर्सियाँ र बाराको सीमावर्ती क्षेत्रबाट मूख्यत: मख्तार नामक भारतीय तस्करले सबभन्दा ठूलो लाइन लिएर तस्करी गरिरहेका छन् । दैनिक लाखौंको भन्सार राजश्व छल्ने गरी करोडौंको कपडा भारतबाट नेपाल भित्र्याउन तस्कर मूख्तारले सीमावर्ती क्षेत्रका सशस्त्र प्रहरी एवं जिल्लाका साथै प्रदेशस्तरमा समेत सेटिङ गरेर लाइन चलाइरहेको मुख्तारनजिककै तस्करहरू बताउँछन् ।
मुख्तारले एक भूपू प्रहरी एवं करिब आधा दर्जन साना तस्करहरूको साथमा काम गरिरहेका छन्, अटो रिक्सा, मोटरसाइकल, साइकल एवं पैदल भरियाहरूको माध्यमबाट गांठका गांठ कपडा भारतबाट नेपाल ल्याएर नक्कली बिल बनाई नेपालको विभिन्न भागमा पठाउने गरेका मुख्तारले नेपालबाट भारत विहारमा प्रतिबन्धित मदिरा एवं गाँजाको तस्रकी गरेर लैजाने गरेका स्रोत बताउँछ ।
वीरगंजको मूख्य भन्सार मात्र नभई पर्सा जिलाको प्राय: सबै नाका तस्करहरूकालागि खुल्ला गरिएपनि सशस्त्र प्रहरी नेतृत्वले नियन्त्रण गर्न नसक्दा प्रहरीको संरक्षणमै तस्करी भइरहेको प्रष्ट भएको छ ।