काठमाडौं । दाजु दिलिप घिमिरे नेपाल प्रहरीको एसपी । भाइ विकास घिमिरे सशस्त्र प्रहरी बलका एसपी । सहोदार दाजुभाई दुई सुरक्षा निकायका प्रभावशाली पदमा विरलै होलान् । दिलिप र विकास दुईजना फरक सुरक्षा निकायमा एसपी हुनुहुन्छ । र, दुवै दाजुभाई उत्कृट कमाण्डरका रुपमा यो वर्ष पुरस्कृत हुनुभएको छ । दाजु दिलिप अहिले जिल्ला प्रहरी कार्यालय इलाममा कार्यरत हुनुहुन्छ भने भाई विकास ललितपुरको सशस्त्र प्रहरी बल दक्षिणकाली गणमा कार्यरत हुनुहुन्छ । दाजु दिलिप नेपाल प्रहरीबाट दाजु दिलिप उत्कृष्टका रुपमा पुरस्कृत हुनुभएको छ भने भाइ विकास सशस्त्र प्रहरीमा उत्कृष्टका रुपमा पुरस्कृत हुनुभएको छ ।
दुवै सुरक्षा निकायको वार्षिक निरिक्षणको क्रममा दाजु दिलिप र भाइ विकास पुरस्कृत हुनुभएको हो । नेपाल प्रहरीले दिलिपले नेतृत्व गर्नुभएको जिल्ला प्रहरी कार्यालय इलामलाई उत्कृष्ट प्रहरी कार्यालय घोषणा गरेको छ । त्यसैगरी सशस्त्र प्रहरीले दक्षिणकाली गणलाई यस वर्षको उत्कृष्ट वटालियन घोषणा गरेको हो । उत्कृष्ट घोषणा गरेसँगै दुवै एसपी पुरस्कृत हुनुभएको हो ।
घिमिरे दाजुभाइ ललितपुरको लेलेका नगरका स्थायी वासिन्दा हुनुहुन्छ । सुरक्षा निकायमा समर्पित यो परिवारमा दुईजना मात्र होइन । जेठा दिलिप र कान्छा विकास बाहेक माहिला पवन घिमिरे नेपाली सेनामा लेफ्टिनेन्ट कर्णेल हुनुहुन्छ । यो परिवारकी बुहारी अर्थात् विकासकी पत्नी डा. समृद्धि वस्नेत सशस्त्र प्रहरी अस्पतालमा चिकित्सक हुनुहुन्छ । दिलिप घिमिरेककी पत्नी वसुन्धरा खड्का पनि नेपाल प्रहरीकी डिएसपी हुनुहुन्छ ।
यो परिवारको सुरक्षा निकायसँग पुस्तैनी सम्बन्ध छ । उहाँहरुका हजुरबा जितबहादुर घिमिरे प्रथम विश्वयुद्धका बेला नेपाली सेनाका क्याप्टेन हुनुहुन्थ्यो । अंग्रेजको पक्षमा लड्न बर्मा गएको नेपाली फौजको नेतृत्व जितबहादुरले गर्नुभएको थियो । उनै जितबहादुरका नाती पुस्ता आज नेपालको सुरक्षा निकायमा उत्कृष्ट कमाण्डरका रुपमा ठहरिनुभएको छ ।