राजनीतिक पूर्वाग्रहको चपेटामा कोशी अस्पताल

0

– विनोद भण्डारी

विराटनगर — राजनीतिक पूर्वाग्रहका कारण कोसी अस्पतालको विकास समिति र अस्पताल प्रशासनले एक अर्काको अस्तित्व स्वीकार नगर्दा विवाद सतहमा आएको छ । यसले अस्पतालको सेवालाई अस्तव्यस्त बनाउनुका साथै समितितर्फका १ सय १८ कर्मचारी र २५ चिकित्सकले दुई महिनादेखि तलब पाएका छैनन् ।

समितिका अध्यक्ष महेश भट्टराई र मेसु डा. लक्ष्मीनारायण यादव दुई फरक राजनीतिक दल समर्थक हुन् । उनीहरूको राजनीतिक पूर्वाग्रहबाट समितिका कर्मचारी र चिकित्सक पीडित हुँदा अस्पतालले प्रदान गर्दै आएको चिकित्सा सेवा पनि प्रभावित बनेको छ । भट्टराई केपी शर्मा ओली प्रधानमन्त्री हुँदा विकास समितिका अध्यक्ष भएका थिए । पछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले मेसुमा डा. यादवलाई नियुक्त गर्दै भीष्मजंग कार्कीलाई समिति अध्यक्षमा नियुक्त गरेपछि विवाद बढेर अस्पताल व्यवस्थापन अस्तव्यस्त बनेको हो ।

देउवा सरकारले भट्टराईलाई हटाएपछि उनी अदालतको आदेशमार्फत पुनः काममा फर्केका हुन् । तर अस्पताल प्रशासनले भट्टराईलाई पाखा लगाउँदै विकास निर्माणलगायत सबै काम एकपक्षीय ढंगले गर्दै अगाडि बढ्दा अस्पतालको माहोल दिनहुँ बिग्रँदो छ ।

समितिका अध्यक्षलाई कार्यक्रम र बैठकमा बोलाउँदा पनि नआएपछि दैनिक प्रशासनिक लगायत विकास निर्माणका काम बाध्य भएर आफूले गरिरहेको डा. यादवको दाबी छ । ‘केही कार्यक्रमको समय तालिका आफूलाई नै ढिलो आउँदा समितिलाई सूचना गर्न ढिलाइ हुन्छ,’ उनले भने, ‘त्यसैलाई आधार मानेर अध्यक्ष कार्यक्रममा आउँदैनन् भने अस्पताल प्रशासनले गर्ने के ?’

यसको पछिल्लो उदाहरण सरकारबाट २ अर्ब १७ करोडमा निर्माण हुने ८ तले सर्जिकल भवनको शिलान्यास कार्यक्रम पनि हो । मंसिर २९ को उक्त कार्यक्रममा विकास समितिका कोही पनि सदस्य आएनन् । यादवका अनुसार समितिका अध्यक्ष बैठकमा नआउँदा समितिबाट नियुक्त कर्मचारी र चिकित्सकले तय गरेको समयसीमाभित्र तलब पाइरहेका छैनन् । ‘समितिका अध्यक्ष भट्टराई बोलाउँदा पनि अस्पताल आउँदैनन्,’ यादवले भने, ‘अब प्रमुख जिल्ला अधिकारीको समन्वयमा समिति र अस्पताल प्रशासनको बैठक गर्ने प्रयास गर्दैछु ।’

 

अस्पताल प्रशासनले आफू लगायत समितिका कुनै पनि सदस्यलाई कुनै पनि कार्यक्रमको जानकारी नै नदिने गरेको अध्यक्ष भट्टराईको गुनासो छ । उनले भने, ‘बैठक बसौं भन्दा पनि मेसु मान्दैनन्, बैठक बस्न नसकेकै कारण कर्मचारीलाई तलब दिन सकिएको छैन । उनीहरूको म्याद थप पनि हुन सकेको छैन ।’ भट्टराईका अनुसार मेसु र उनको टिमले समिति प्रति राजनीतिक पूर्वाग्रह राख्दा अस्पतालको सेवा प्रवाहमा समेत असर परेको छ ।

अस्पताल स्रोतका अनुसार बाह्य रूपले एक अर्कालाई देखावटी आरोप लगाए पनि दुवैको निहित स्वार्थका कारण अस्पतालमा भाँडभैलो मच्चिएको हो । अस्पतालमा सरकारबाट झन्डै साढे तीन अर्बको लगानीमा हाल निर्माण भइरहेका भवन निर्माणमा कमिसन लगायतका आर्थिक चलखेल र अस्थायी वा करारमा आफू निकटलाई कर्मचारीमा नियुक्तिको विषयमा दुईबीचको स्वार्थ जुध्दा कर्मचारी तलबबाट तथा सेवाग्राही प्रभावकारी उपचारबाट वञ्चित भइरहेको स्रोतले जनायो । स्रोतका अनुसार नियमित सेवामा रहेका करारका कर्मचारीले तलब नपाइरहेको जारी विवादबीच मेसुले आफू निकट केहीलाई नियुक्ति दिएर राख्दा आफ्ना मान्छे वा पार्टी कार्यकर्ता छिराउन नपाउँदा भट्टराई

छट्पटिएका छन् । यहाँका दुई निजी शिक्षण अस्पताल नोबेल र विराटले चालु वर्षदेखि स्वास्थ्य बिमा बोर्डका बिमितलाई सेवा दिन छाडेपछि उक्त अस्पतालमा दिनहुँ सेवाग्राहीको घुइँचो लाग्छ ।

यस अस्पतालमा हाल दैनिक सरदर १ हजार ५ सय बिरामी ओपीडीमा पुग्ने गरेको अस्पतालको तथ्यांक छ । त्यसैगरी अस्पतालमा रहेको ३ सय ५० बेड सधैं भरिभराउ हुन्छ । अस्पतालले सेवाग्राहीको चाप थेग्न नसकेकै कारण सरकारले ७० करोडको लागतमा आकस्मिक सेवा, कार्डियोलोजी, नेफ्रोलोजी र न्युरोलोजी डिपार्टमेन्टसहितको ७ तले भवन निर्माण सुरु गरेको छ । त्यसैगरी सरकारको २ अर्ब १७ करोडको लागतमा रेडियोलोजी, पेडिएटिक, अर्थोपेडिक, साइकेटिक, सर्जरी र न्युरो सर्जरी डिपार्टमेन्टसहितको ८ तले भवन निर्माणका लागि सहरी विकास कार्यालयले प्रक्रिया सुरु गरेको छ ।

२ सय ५० बेड स्वीकृत भए पनि बिरामीको चाप बढेर हाल अस्पतालले ३ सय ५० बेड सञ्चालन गर्दै आएको छ । अस्पतालमा सरकारी दरबन्दीका ८० चिकित्सक र विकास समितिका २५ चिकित्सक कार्यरत छन् । त्यसैगरी सरकारी दरबन्दीका ७६ र समितिका ६५ स्टाफ नर्स सेवामा छन । समितिले आफू मातहतका चिकित्सक, स्टाफ नर्स र कर्मचारीलाई मासिक एक करोडभन्दा बढी तलब निकासा गर्दै आएको अस्पतालले जनाएको छ ।

हाल उक्त अस्पतालमा भेन्टिलेटरसहितका २४ वटा आईसीयू वार्ड, ८ वटा डाइलासिस वार्ड सञ्चालन गर्दै युरो र न्युरो सर्जरी सेवा पनि सुरुवात गरेको मेसु यादवले बताए । उनका अनुसार हाल अस्पतालले प्रसुतिको ७० वार्डलाई बढाएर सय बार्ड बनाउने तयारी गरेको छ । त्यसैगरी अस्पतालले ल्याप्रोस्कोपी कोलिसिस्ट कटोमी सेवा सुरु गरेर ल्याबरोटरी इन्फरमेसन सिस्टम र अस्पतालको एप सञ्चालन गर्ने तयारी गरेको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्