वीरगंजका मारवाडीको व्यवसायिक फर्ममा राजश्व अनुसन्धानको छापा

0

क्राइमचेक प्रतिनिधि
काठमाण्डौ, ०५ असोज/खाद्यान्न सामग्रीको आयात निर्यात गर्ने इजाजत लिएर अनेकौं वैध–अवैध कार्य गर्ने वीरगंजका मारवाडी समुदायका चर्चित भिखमचन्द अग्रवालको वीरगंज लाठगल्लीस्थित घरमा रहेको कार्यालयमा राजश्व अनुसन्धान विभागको टोलीले छापामारी गरेको छ ।

विभिन्न व्यापारिक फर्मको नाममा खाद्यान्न कारोबारको आडमा कपडा, सुर्तीजन्य पदार्थलगायतको समेत कारोबार गरेको सूचनाहरू प्राप्त भएपछि राजश्व अनुसन्धान विभागको टोलीले एक महिना अगाडी मुकेश अग्रवालको वीरगंज, विर्तामोड र काठमाण्डौस्थित कार्यालयमा एकसाथ छापामारी गरेर फाइलहरू नियन्त्रणमा लिएको थियो भने बुधवार भिखम चन्द मारवाडी (अग्रवाल)को फर्ममा पुगेका राजश्व अनुसन्धान विभागको टोलीले विभिन्न फाइलहरू नियन्त्रणमा लिएको बुझिएको छ ।

त्यस्तै छाता व्यवसायमा एकछत्र राज गर्दै आएका वीरगंजका अर्का व्यवसायी सुशील मित्तलको वीरगंजस्थित व्यापारीक फर्म न्यू लक्ष्मी ट्रेडर्सको कार्यालयमा पनि राजश्व अनुसन्धान विभागको टोलीले छापामारी गरी कागजातहरू नियन्त्रणमा लिएको थियो । गत भदौ महिनामा फाइल नियन्त्रणमा लिएपछि भिखम चन्द अग्रवाल र मित्तलहरूले कारवाहीबाट बच्न एमालेका ठूलै नेताको शक्ति एवं मोटो रकमको प्रयोग गरेको स्रोतबाट जानकारी हुन आएको छ ।

सो सम्बन्धमा भिखम चन्द मारवाडी अग्रवालका छोरा अभिषेख अग्रवालसँग बुझ्दा आफूहरू एक नम्बर कारोबारी रहेको र राजश्व अनुसन्धानको कुनै छापा नपरेको दाबी गरे । अभिषेखले आफ्नो गुडवीलबारे दुष्प्रचार गर्न कसैले भ्रम फैलाएकोले त्यसमा कुनै सत्यता नरहेको दाबी समेत गरे ।

उता छाता कारोबारमा एकछत्र साम्राज्य स्थापना गर्न सफल न्यू लक्ष्मी ट्रेडर्सका सुशील मित्तलले भने आफ्नो फर्ममा राजश्व अनुसन्धान विभागको छापा परेको र विभागले कागजातहरू नियन्त्रण लिएको कुरा सत्य भए पनि कारवाहीबाट बच्न आफूले कुनै आर्थिक वा दलीय शक्ति प्रयोग नगरेको बताए ।

यता स्रोतबाट प्राप्त जानकारी अनुसार अवैध सट्टाबाजी, हुण्डी कारोबार, सुपारी लगायतका खाद्यान्न र सोको आडमा सुर्तीजन्य गुट्खा कारोबारमा महारथ हासिल गरेका मुकेश अग्रवालले एमाले पार्टीका पूर्व अर्थमन्त्रीसँगको निकटतम सम्बन्ध रहेको भन्दै राजश्व विभाग समेतको आँखामा छारो हालेर अवैध धन्दालाई तीव्रता दिइरहेका छन् ।

कालाबजारीयाहरूले राजश्वका कर्मचारीलाई प्रभावमा पारेर आफू मोटाउने तर देशको आर्थिक अवस्थालाई खस्काउने अभियानमा अंकुश नलगाउने हो भने देश निकट भविष्यमै श्रीलंकाको अवस्थामा पुग्ने भन्दै जानकारहरूले चिन्ता व्यक्त गरेका छन् ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्