Saturday, November 9, 2024
घरविचारअरु रिसाएको मन पर्दैन ?

अरु रिसाएको मन पर्दैन ?

– राजन बिडारी

उसो भए मलाई पनि रिसाउने कुनै अधिकार छैन । हैन, मलाई रिस उठछ भने, अरु रिसाएको पनि खप्न सक्नु पर्छ मैले, बिकल्पै छैन ! आफु चै रिसाइ नै रहने अनि अरु सबैले मलाई प्रेम गरुन, माया दिउन भनि कामना कसरी गर्न सक्छु म ? म सँग कोही नरिसाउन भन्ने भाव, सोच र चिन्तन मनमा पाल्न मिल्छ र मैले ?

हेर्नुस, रीस आगो हो । त्यसैले जति मात्रामा म रिसाउँछु, त्यत्तिकै परिणाममा जल्दै जान्छु पनि । अर्थात् जति गहिरो रीस, उत्ति धेरै जलन । तर त्यो जलन तत्काल, अझ भनौ रिस उठीरहँदा थाहै हुन्न, पत्तै पाइन्न। वस थर्काउन र डर देखाई झम्टिन तीर नै मन जान्छ । परिणाम त तब देखिन्छ, जब रीस मर्छ, बिस्तारै शान्त भइन्छ । त्यसैले भनिन्छ कि आधीहुरी र रीसको छरपष्ट दुर्दशा तब देखिन्छ, जब यी दुबै शान्त हुन्छन् । अनि त शुरु हुन्छ पश्वाताप, जलन, रोदन अनि क्रन्दन । तर के गर्नु, त्यत्तिखेर सम्म त नहुनु पर्ने बिनाश र क्षति सबै भै सक्छ ।

रीसले शुरुमा बेमेल, मनमुटाव, आशंका, आवेग निम्त्याउँछ । मन मष्तिस्कलाई जति सक्दो तनाव दिन्छ । सहनै कठिन भए पछि बिस्तारै झगडा तर्फ मोड्छ । त्यस पछि बाद बिवाद, भनाभन, आक्रोश पुर्ण हाउभाउ देखिन थाल्छ । र त्यहाँबाट समेत अघि बढे झगडा अर्थात् लछारपछार, कुटाकुट, मारामुङ्ग्री शुरु हुन्छ । कोही कसैले अलग नगराए एक अर्कालाई मार्न मर्न समेत उद्दत भैदिन्छ्न्, झगडालुहरु । अर्थात् ठुलो क्षति भएरै टुङ्गिन्छ वा कसैले बलजफ्ती लाखापाखा लगाइदिन्छ तब टुङ्गिन्छ झगडा र बिस्तारै मर्दै जान्छ रीस । यता जति रीस शान्त हुदै जान्छ, उता पश्चाताप र जलन अनि रोदन र क्रन्दन क्रमशः बढ्दै जान थाल्छ ।

भनिन्छ नि रिसाएको बेला बेद पढिन्न ! त्यसको मतलव,रीस नै यस्तो एक नकारात्मक भाव हो, जस्ले ब्यक्तिलाई अन्धकार तर्फ धकेल्छ र हिंसा गर्न उक्साउँछ । ब्यक्ति रिसिदाका बखत उत्पन्न नकारात्मक केमिकल र भावहरु दुबैले उ स्वयंको शारीरिक एवं मानसिक क्षति गरि नै रहेको हुन्छ । त्यसैले अक्सर रिसाएको मानिस शान्त अवस्थामा भन्दा कयैन गुणा कुरुप देखिन्छ ।

नेपालीमा एउटा उखान छ नि, ‘रिस खा आफु, बुद्धि खा अरु’ । हो, त्यस्तै हुन्छ रिसाउने ब्यक्तिको पनि । रिसाइ रहने भए पछि उता घरायसी पारिवारिक र सामाजिक सम्बन्ध नराम्रो सँग बिग्रन्छ । यता आफ्नो मानसिक शारीरिक स्वास्थ्य क्रमशः बिग्रदै गएर गम्भीर असर एवं परिणाम भोग्नु पर्छ । रिसाहा ब्यक्तिलाई कोही कसैले मन पराउने कुरै भएन । प्रायः सबै सँग टाडिदै जान्छ र परिवार अनि समाजमा उ नितान्त एक्लो बन्दै जान्छ । उसले कुनै काम राम्रो सँग गर्न सक्तैन, कसैले साथ दिदैनन् । मुख्य कुरा त के भने रिसाहा ब्यक्तिले कसैबाट प्रेमपुर्ण ब्यवहार र सद्भाव पाउनै सक्तैन । अनि त के, रोग, शोक र एकाङकी एवं कष्टकर जीवन बाच्न बाध्य हुन्छ । सवै स्वाहा भैसके पछि जल्ने भनेकै पश्चातापमा हो ।

केही अपबादमा रिसिनु ठिकै वा लाभदायक नै हुन्छ, देखिन्छ । आफु ठिक हुँदाहुँदै कोही कसैले अनावश्यक दवाव वा शोषण गर्न खोज्दा, असैह्य हेपाइमा पर्दा र लेनदेन वा सम्पत्ति प्राप्ति तर्फ घोर अन्यायमा पर्दा सचेतता पुर्वक रिसिनु जायज र उपयुुक्त नै मानिन्छ । यस्तो बेलामा झगडा वा मारकाटमा उत्रनु आबश्यक छैन । मौन बस्नु (नबोल्नु), आफ्नो कुरा तर्क सङ्गत एवं कानुनी प्रमाणको आधारमा स्पष्ट राख्नु, आफुलाई पीडा दिने र अन्याय गर्ने ब्यक्तिलाई बहिष्कार गर्नु समेतका ब्यवहारहरु पर्दछ्न् । जव सम्म उस्ले आफ्नो गल्ती अनि उल्टो ब्यवहार सुल्टो पार्दैन तब सम्म संङ्गत नगर्ने, कम बोल्ने वा मौन बस्ने गर्नु पर्दछ ।

यसो सोचौ त, केही माथि भनिएका अपवाद बाहेक आज सम्म रिसले कसैको भलो गरेको छ र ? बिज्ञहरुको भनाईमा कुनै पनि ब्यक्ति लगातार ४/५ मिनेट भन्दा बढी रिसायो कि शारीरिक/मानसिक हानी हुन थाल्छ । अत: आजै देखि रिसलाई क्रमशः कम गर्दै जाऔ । प्रेमभाव अनि आपसी सद्भावलाई बढाउ । सहज अनि सरलता पुर्ण जीवन ब्यतित गर्दै आनन्द भावमा रहौं !

बालबालिकाको जयहोस ! सबैको जयहोस !!
जय जय हो जीवन्त शिक्षा !!!

राजन बिडारी
२०७८/११/१९ बिहिवार

(सिकाइ, भोगाइ अनि बुझाइ पस्किएको मात्रै हजुर, जान्ने पल्टिएको हैन)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -