चन्द्रसूर्य प्रतिनिधि/
वीरगंज, ११ माघ/
भन्सार सुरक्षा एवं राजश्व चुहावट नियन्त्रणका लागि वीरगंज भन्सारमा स्थापित सशस्त्र प्रहरी पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमले असुली आतंक मच्चाएका छन् ।
नियमित सरुवा हुनु पर्ने समयावधि सकिएपछि पनि झन्डै ७ महीना बढ़ी समयदेखि वीरगंज भन्सारमा बसेका सशस्त्र प्रहरी निरीक्षक बमले साना देखि ठूला तस्करहरूलाई भन्सारको मुख्य गेटबाट नै राजस्व छली गर्न सघाएर दिन दुई गुना रात चौगुनाको गतिमा अवैध असुली अभियान चलाएका छन् ।
पर्सामा हालै आउनु भएका सशस्त्र प्रहरीका एस.पी. तेज प्रसाद पोखरेलले सीमा सुरक्षालाई प्राथमिकतामा राखी अवैध चोरी निकासी एवं राजस्व छली र तस्करी कार्यलाई निरुत्साहन गर्न मातहतका बीओपी प्रमुखहरूलाई निर्देशन दिए पनि सशस्त्र प्रहरी बल नेपालको नीति विपरीत इंस्पेक्टर बमले आफ्ना विश्वास पात्र प्रहरी सहायक निरीक्षक तिलक थापा एवं प्रहरी जवान दिनेश वाग्लेमार्फ़त तस्करहरूसँग असुली अभियान संचालनमा ल्याएको श्रोतले बताएको छ ।
रातीको समयमा भारत तर्फ़ रक्सी निकासी, बाँसघारी क्षेत्रबाट खँसीबाख्रा भित्र्याउन एवं भन्सार राजस्व छली गरेर नेपाल भित्र्याउने तस्करहरूको काममा अवरोध नगरिदिने शर्तमा भन्सार स्थित सशस्त्र प्रहरी बलले मासिक लाखौं असुल्ने गरेको श्रोत बताउँछ ।
सशस्त्र प्रहरी जवान वाग्लेले मुख्य भन्सारमा साइकल, टेम्पू, इरिक्सा लगायतमा अवैध चोरी निकासीमा सहयोग पुर्याएवापत दैनिक दुई लाख रुपियाँसम्म असुल्ने र साँझ परेपछि सम्पूर्ण हिसाब इंस्पेक्टर बमलाई बुझाउने गरेका छन् ।
वीरगंज भन्सारमा चौथो पटक आएका सशस्त्र प्रहरी सहायक निरीक्षक तिलक थापा र दोश्रो पटक आएका प्रहरी जवान दिनेश वाग्लेले प्रहरी निरीक्षक बमको आदेशमा सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगर र ससशत्र प्रहरी उपरीक्षकको नाममा लाखौं असुली गरिरहेका छन् ।
घरखर्चको लागि दुई किलो चीनी लगायत भान्छाका सामान ल्याउने सामान्य नागरिकसँग राष्ट्रिय अपराध गर्ने अपराधी सरह दुर्व्यवहार गरि सामान खोसेर भन्सार चलान गर्ने तर दैनिक लाखौं मूल्य बराबरको तस्करी र भन्सार छली गर्नेहरूलाई सुरक्षा साथ लाइन दिने सशस्त्र प्रहरी निरीक्षक बमको क्रियाकलापबारे माथिल्लो निकायका प्रहरी अधिकारीहरू जानकार छन् या सेटिंगमा आँखा चिम्लेका हुन, चासोको विषय बनेको छ ।
यस विषयमा सशस्त्र प्रहरी निरीक्षक सुवर्ण बमसँग बुझ्न खोज्दा उनको फोन उठेन ।