राष्ट्रिय एकताका प्रतीक पृथ्वी नारायण शाहको अनादर किन ?

0
सन्तोष कुमार मिश्र

– सन्तोष मिश्र
विश्वको सर्वोच्च शिखर माउण्ट एभरेष्ट हिमालको काखमा बसेको एकमात्र हिन्दु राजतन्त्रात्मक मुलुक नेपाल थियो । वि.सं. २०६३ को जन आन्दोलन र १० वर्षे सशस्त्र माओवादी जनयुद्धले एकैसाथ २३८ वर्षको शाहवंशीय राजतन्त्र र हिन्दु राष्ट्रलाई नयाँ र समृद्ध नेपाल निर्माण गर्ने भनेर स्वाहा पारियो । नेपालको परापूर्वकालदेखि अवलम्बन गर्दै आएको आर्य सत्य सनातन हिन्दु धर्म र राजतन्त्रको क्रमभंग गरियो ।

शोभियत रुसका एक इतिहासकारले ‘इतिहासले कसैलाई कुनै पाठ सिकाउँदैन तर जसले ईतिहासबाट कुनै पाठ सिक्दैन उसलाई इतिहासले सधैं दण्ड मात्र दिईरहन्छ ।’ भनेझैं नेपालमा भइरहेको छ । जनआन्दोलनबाट स्थापित राजनीतिक दलका नेताहरूले विगतको इतिहासबाट पाठ नसिकेकाले उनीहरूले दण्ड र असफलताको पीडा सहनु परेको छ । आग्रह, पूर्वाग्रह, संकिर्णता, राष्ट्रघातबाट कुनै पनि नेता स्थापित हुन सक्दैन ।

कृतघ्न र स्वार्थी नेताहरूको अवस्था दूध उम्लिएर पोखिएजस्तो, पानीको फोकाजस्तो हुनेछ । नेपालका कुनै नेता असल र आदरणीय बन्न सकेका छैनन् । इतिहासमा उनीहरूको नामले निरन्तरता पाउन सकेको छैन । कुनै राजनेता बनेका छैनन् । दलका नेताहरूको नाम बदनाम र गुमनाम हुँदै गएको छ । दलका नेताहरूको नेतृत्त्वमा भएको आन्दोलनले आफ्नो उद्देश्य, लक्ष्य र उपलब्धी हासिल गर्न सकेको छैन । राष्ट्रिय स्वाधिनता, नेपाली जनताको स्वाभिमानको रक्षा गर्न दलका नेताहरूले सकेका छैनन् । उनीहरूको आत्मामा ग्लानी छ, पश्चाताप छ तर पनि निरर्थक जीवनको नेता बनेका छन् । स्वनाम धन्य नेता, तथाकथित नेताहरूको नेपालमा कुनै कमि छैन । स्थापित, असल, आदरणीय, राष्ट्रवादी नेता नेपाली आमाले जन्माउन नै नपाई मर्ने हुन् कि भन्ने खतरा बढेको छ ।

संकिर्ण कालो मन र राष्ट्रघाती प्रवृत्ति भएका जोकोही नेपाली र नेताले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको अनादर गर्नु अस्वाभाविक होइन तर राष्ट्रप्रति वफादार सब नेपाली नागरिकले राष्ट्रिय एकताका प्रतीक, राष्ट्रका अभियन्ता पृथ्वी नारायण शाहलाई आदर गर्दै आइरहेका छन् । कुनै रुपमा कसैसँग पृथ्वी नारायण शाहको योगदानको तुलना गर्न सकिंदैन र देशप्रति समर्पित समग्र नेपालका सम्पूर्ण नेपालीले श्री ५ पृथ्वीनारायण शाहलाई संझना नगरी रहन नि सक्दैनन् । नेपाल र नेपाली रहेसम्म पृथ्वी नारायण शाहको नाम र योगदान अजर अमर रहने छ । अखण्ड नेपालका देशभक्त नेपालीहरूले पृथ्वी नारायण शाहको “दिव्योपदेश”लाई आत्मसात गरिहरेका छन् ।

पृथ्वी नारायण शाले अर्जेको विशाल सुन्दर र शान्त नेपाल यतिखेर खुम्चिएको छ, कुरुप अशान्त छ । पूर्वमा तिष्टा, पश्चिम किल्ला काँगडा, दक्षिणमा गंगा नदिसम्म फैलिएको नेपाल ब्रिटिस–ईण्डियासँग भएको सुगौली सन्धी पश्चात निकै खुम्चिएको छ । खुल्ला सीमाना रहेको भारतले नेपालको सीमा अतिक्रमण र नेपालमा भारतीयकरणको अभियान जारी रहेको छ । जुन कुरा राष्ट्र निर्माता पृथ्वी नारायण शाहले सोचेका र चाहेका थिएनन् । पृथ्वी नारायण शाहको “दिव्योपदेशमा जे जे कुरा नगर्नु भनिएको थियो त्यो त्यो कुरा अहिले राजनीति र कुटनीतिका नाममा गरिरहेका छन् । यो नै राष्ट्रिय दूर्भाग्य हो ।

पृथ्वी नारायण शाहको पालामा नेपालमा बाइसी चौबिसी राज्य र भारतमा ५४२ वटा राजा रजौटा थिए । पृथ्वी नारायण शाले नेपालभित्रको बाईसी–चौबिसी राज्यलाई एकीकरण गरी गोरखा रज्यको नाम परिवर्तन गरेर नेपाल राख्नुभयो । आधुनिक नेपालको निर्माणको जगमा ईटा राख्नुभयो । पृथ्वी नारायण शाहको “दिव्यापदेश राजनीति र कुटनीतिकालागि अहिले पनि “गाइड बुक” नै छ । राजनीतिक दलहरूको विचारभन्दा निकै बहुपयोगी दिव्योपदेश देखिएको छ । सत्य र आवश्यकताको गुदी कुरा दिव्योपदेशमा छ ।

यतिखेर प्रगतिशील, प्रजातन्त्रवादी, जनवादी, संघीयतावादी, विखण्डनवादी नेताहरूले पृथ्वीनारायण शाहलाई राजनीतिक स्वार्थमा मुछ्न खोजेका छन् । पृथ्वी नारायण शाहको कद र छवि होच्याउने हिम्मतवाला, क्षमतावाला नेता कोही देखिएका छैनन् । पृथ्वी नारायण शाहले नेपाल र नेपालीको सर्वोत्तम हितकालागि दिनु भएको योगदानलाई राष्ट्रिय स्वार्थभन्दा बाहिर राखेर हेर्ने, नकारात्मक दृष्टि राख्ने सच्चा जिम्मेवार र उत्तरदायि नेपाली हुनै सक्दैन । राष्ट्रलाई विखण्डन गर्ने, नेपाल र नेपालीको अस्तित्त्व मेटाउनेहरूले पृथ्वी नारायाण शाहलाई गाली गर्ने र विदेशी नेता र उनीहरूको विचारको प्रशंसा गर्नेछ, जुन काम यतिखेर नेपालमा भइरहेको छ ।

जनआन्दोलनमा राष्ट्रका अभियन्ता, सच्चा अवसरवादी अमर व्यक्तित्त्व श्री ५ पृथ्वी नारायण शाहको बारेमा लेखिएका कृतिहरू च्यातिए, ठाउँ–ठाउँमा राखिएका पृथ्वी नारायण शाहका फोटोहरू च्यातिए तर पृथ्वी नारायण शालाई बिर्सने काम भने भएको छैन ।

राष्ट्रियस्तरमा पृथ्वीनारायण शाहको जयन्ती र राष्ट्रिय एकता दिवस नमनाइएपनि जनस्तरबाट बडो उत्साहकासाथ पृथ्वी जयन्ती मनाइँदै छ ।पृथ्वी जयन्ती र एकता दिवसमा सार्वजनिक विदा दिएर राज्य सरकारले नै राष्ट्रिय स्तरमा मनाउनु पर्दछ भनेर सकारात्मक रुपमा रुपमा आएको जनआग्रहलाई राज्यले बेवास्ता गर्यो । राज्यले आयातित विदेशी धर्म अर्थात क्रिश्मसमा राष्ट्रिय विदा दिन हुने, देशभित्र भाँड भैंलो मच्चाउने नेताहरुको सम्मानमा राष्ट्रिय उत्सव मनाउने तर राष्ट्र निर्माताको सम्झन पनि नहुने ? राष्ट्रनिर्माताको यस्तो अनादर भइरहँदा पनि राष्ट्रवादी नेपाली नागरिकको संयमता आफैंमा आश्चर्यलाग्दो छ ।

के हामीले वर्तमान सरकार र संविधानलाई राष्ट्रिय इतिहास मेट्नकै लागि पठाएका थियौं ? के हामीले संविधानमार्फत देशको रचयिता, राष्ट्रिय एकताका प्रतीक पृथ्वी नारायण शाहको अपमान गर्नकै लागि वर्तमान गणतन्त्रात्मक व्यवस्था रोजेका थियौं ? देशको सर्वोच्च पदमा पुगेका वर्तमान गणतन्त्रवादीहरु पुगेका छन् के यो देश यिनै गणतन्त्रवादीहरुले बनाएका हुन् ? राष्ट्रिय इतिहासलाई र राष्ट्रको निर्माणकर्ताको यत्रो अपमान भइरहँदा पनि मौनता साँधेर बसिरहने राष्ट्रवादी नेपाली नागिरक नालायक नै छन् त ?

नेपालको इतिहासको कालखण्डमा देशनिर्माण गर्ने महान र गौरवशाली काम पृथ्वी नारायण शाहले गर्नुभयो । यसलाई उछिन्ने नेता र व्यक्ति कोही देखा परेका छैनन् । पृथ्वीनारायण शाहको दिव्योपदेशलाई आत्मसात गर्ने कुनै पनि नेताले आफ्नो जीवनमा कहिल्यै पनि हार्दैन । केही लेखकहरूले पृथ्वी नारायण शाहको विरुद्धमा मनगढन्ते, अनर्गल लेखहरू लेखेर मनको तुष पोखिरहेका छन्, यो उनीहरूको दृष्टिदोष हो, नकारात्मक सोंच र दृष्टिकोण हो । यस्ता मानिसहरू राष्ट्रकालागि “कोढी” हुन् । वुद्धि बेचेर बिचार खाने वुद्धिजीवी खाइ जीवका चलाउने र अरुको वुद्धि र इशारामा हिंड्ने विवाद जन्माउने वुद्धिजीवीहरू तथा नेताहरूको हावी भएकाले यो देशले यो दूर्दशा भोग्नु र नेपाली जनताले यो सास्ती र अपमान खेप्न तथा सहनु परेको हो । पृथ्वी नारायण शाहले मुलुकभर फिंजाएको सन्देशलाई हामीले जति उच्च सम्मान दिन सक्छौं त्यति नै नेपालको अस्तित्त्व रक्षा भई नेपाल सफल, सबल र विशाल बन्छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्