Sunday, December 8, 2024
घरसमाचारबिपी उद्यानमाथि माफियाको कब्जा जारी ! हटेन अवैध बजार, मेयर सरावगी भन्छन्,...

बिपी उद्यानमाथि माफियाको कब्जा जारी ! हटेन अवैध बजार, मेयर सरावगी भन्छन्, “हटाएरै छाड्छौं”

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २६ पौष/
वीरगंज–९ घण्टाघरको उत्तरपट्टी रहेको बिपी उद्यानको जग्गा माफियाको चंगुलबाट अझै पनि हट्न सकेको छैन ।
वीरगंजकै मुटुको रुपमा स्वच्छ नगर सुन्दर शहरको रुपमा विकसित गराउने उद्देश्यले बिपी उद्यानको नाममा वीरगंज महानगरपालिकाको स्वामित्व रहेको सो जग्गामा माफियाहरूले कब्जा गरी गैर कानुनी एवं अवैध रुपमा तरकारी, थोक तथा खुद्रा बजार संचालन गर्ने कार्य जारी राखेका छन् ।

वीरगंज महानगरको आधिकारिक स्वीकृति नलिई अदालतमा विचाराधिन रहेको मुद्दा किनारा समेत नलागेको अवस्थामा पनि निर्वाध रुपमा बजार संचालन भईरहनु आफैंमा शंकाको विषय बनेको छ ।

सोही विषयमा चन्द्रसूर्य वाणी दैनिक लगायतका पत्रपत्रिका एवं संचारमाध्यमहरूले आइतवार समाचार सम्प्रेषण गरेपछि अवैध रुपमा अतिक्रमण गरी संचालनमा रहेको सो बजार तत्काल खाली गराउन वीरगंज महानगरपालिकाले चासो देखाएको देखिन्छ ।

अवैध रुपमा संचालनमा रहेकाे बजार खाली गराउन आवश्यक सहयोग गराउन वीरगंज महानगरले जिल्ला प्रशासन कार्यालयलगायतलाई लेखेको पत्र ।

वीरगंज महानगरपालिकाले मिति २०७८/०९/२५ गते च.नं. १२१८५ बाट जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै “महानगरपालिकाको स्वामित्वमा रहेको वडा नं. ९स्थित घण्टाघरदेखि उत्तरतर्फ रहेको खाली जग्गामा अविलम्ब पार्क निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकोले सो कार्यकालागि उक्त खाली जग्गमा अनाधिकृत रुपमा बन्द व्यापार, व्यवसाय गर्दै आएका सम्पूर्ण व्यवसायीहरूलाई जग्गा खाली गर्न पटक पटक मौखिक एवं लिखित सूचना गर्दा समेत खाली नगरेकोले अन्तिम पटकको लागि मिति २०७८ पौष १६ गतेमा ७ (सात) दिने सूचना प्रकाशित गरी सबैमा जानकारी गराउँदा समेत हालसम्म खाली नगरेको पाइएकोले पौष २६ गते सोमबार बिहान ११:०० बजे बजार खाली गराउन महानगरको प्राविधिक टोली र नगर प्रहरी जान लागेकोले सो कार्यमा शान्ति सुरक्षाकोलागि आवश्यक पहल गरिदिनु हुन अनुरोध छ”। भन्दै पत्र पठाएको देखिन्छ । महानगरले सो पत्रको बाधार्थ जिल्ला प्रहरी कार्यालय, ९ नं. वडा कार्यालय, भवन तथा भवन संहिता निर्माण इजाजत शाखा लगायत ६ ठाउँमा बोधार्थ समेत दिएको देखिन्छ ।

सोमबार निर्धारित समयमा बजार खाली गराउन गएका महानगरदेखि स्थानीय प्रहरी प्रशासन लगायतको टोली अखिर किन रित्तो फर्कियो ? चौतर्फी प्रश्न उठ्न थालेको छ । यता श्रोतले दिएको जानकारी अनुसार बिपी उद्यानको सो जग्गामा संचालित तरकारी, फलफुल, थोक तथा खुद्रा बजार संचालनमा संरक्षण गरिदिने भन्दै केही बिचौलियाको प्रभावमा परि महानगरलगायतका जिम्मेवार निकाय बजार खाली नगराई रित्तै फर्किएका छन् ।

बजार खाली गराउन गएका वीरगंज महानगरलगायतको टोलीलाई फिर्ता पठाउन सफल भएका विचौलीयाहरूले यस अघि बि.पी. उद्यानमा संचालनमा रहेका तरकारी फलफुल थोक तथा खुद्रा बजारमा प्रत्येक व्यवसायीसंग प्रतिदिन नेपाली ५० रुपैयाँदेखि १०० रुपैयाँ लिने गरिएकोमा अहिले दोब्बर रुपैयाँ असुल्न थालिएको छ जस अनुसार ५० रुपैयाँ दिने व्यवसायीबाट १०० रुपैयाँ असुल गरिन थालिएको छ भने १०० रुपैयाँ दिनेसँग २०० रुपैयाँ लिन थालिएको छ । २०० सय भन्दा बढी पसल, व्यवसायी रहेको सो बजारमा उठेको पैसा कहाँ जान्छ ? बिपी उद्यानमा टिनको सेडबाट प्रति महिना २५ हजार उठाउने पैसा समेत महानगरको राजश्व खातामा नगई गधाको टाउकोबाट सिङ हराएझैं हराउने गरेको छ ।

महानगरपालिकाले तरकारी, फलफुल, माछा, थोक तथा खुद्रा बजार व्यवस्थापन गर्नकालागि मीना बजारमा कम्पलेक्स उपलब्ध गराएको छ । माईस्थान मन्दिरदेखि उत्तर नेपाल टेलिकमसम्म सडकपेटीमा बजार सञ्चालन हुँदा पैदल यात्रु र हलुका सवारी साधानहरुलाई आवत जावतमा कठिनाई समेत भइरहँदा महानगरका नगर प्रहरीहरू दिनभरी आगो तापेर बसिरहेको देखिन्छ ।

यसरी अवैध रुपमा संचालनमा रहेको बजार खाली गराउन गएको टोली किन फकियो ? बजार खाली हुन नसक्नुको कारण के हो भनि चन्द्रसूर्य वाणीले वीरगंज महानगरका प्रमुख विजय सरावगीलाई प्रश्न गर्दा उनले कुनै पनि हालतमा सो बजार खाली गराउने र माफियाहरूको जालो तोड्ने प्रतिकृया दिनु भयो ।

नगरप्रमुख सरावगीको बोली बोलिमै सीमित हुने हो कि व्यवहारमा पनि लागु हुने हो त्यो भने गर्भमै रहेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -