
१६ कात्तिक, जनकपुरधाम । प्रदेश २ सरकारले प्रदेशमा उत्कृष्ट काम गर्ने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले बनाएको पदकसम्बन्धी विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेका छन् ।
प्रदेशका तत्कालिन प्रमुख डा. राजेश झा ‘अहिराज’ ले फिर्ता पठाएको विधेयक अहिलेका प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार प्रमाणीकरण गरेका छन् ।
२६ असोज २०७७ मा पारित भएको यो विधेयक प्रमाणीकरणका लागि तत्कालिन प्रदेश प्रमुख डा. झा समक्ष जाँदा उनले केही सुझाव दिँदै विधेयक प्रमाणीकरण नगरी फिर्ता गरिदिएका थिए ।
उनले प्रदेशमा रहेका प्रदेश बाहिरका स्वदेशी र विदेशीलाई समेत प्रदेश पदकबाट सम्मान गर्न सक्ने व्यवस्था थप गर्न सुझाव दिएका थिए ।
यद्यपी सो विधेयक अहिले जस्ताको तस्तै प्रमाणीकरण भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए । ‘पहिला जुन विधेयक पारित भएको थियो, त्यही विधेयक हुबहु पारित भयो’ उनले भने ।
१५ विधाका पदक
मंगलबार प्रमाणीकरण भएको विधेयकमा १५ विधाका पदक राखिएको छ । जसमा प्रदेश रत्न, मुख्यमन्त्री प्रज्वल तारा, रमेश महतो पदक, प्रदेश जनसेवा पदक, प्रदेश समाज सेवा श्री, प्रदेश मेघावी पदक, प्रदेश किसान रत्न पदक, प्रदेश विद्याभूषण, प्रदेश सेवा उत्कृष्ट पदक राखिएको छ ।
यस्तै, प्रदेश शैक्षिक उत्कृष्ट पदक, प्रदेश गौरव पदक, प्रदेश विभूति पदक, प्रदेश सुरवीर पदक, पर्यटन शिखर पदक, सामाजिक अभियन्ता पदक तोकिएको छ ।
कस्तालाई कुन पदक ?
प्रदेश रत्न : आफ्नो क्षेत्रमा प्रदेशको गरिमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरमा बढाएको व्यक्तिलाई यो पदक दिइनेछ ।
मुख्यमन्त्री प्रज्वल तारा : अनुकरणीय भूमिका निर्वाह गरेको व्यक्तिलाई यो पदक दिइनेछ ।
रमेश महतो पदक : प्रदेशको पहिचान, उत्थानको लागि योगदान पु¥याउने व्यक्तिलाई यो पदक दिइनेछ ।
प्रदेश जनसेवा पदक : जनस्तरमा लोकप्रिय र प्रशंसनीय काम गर्ने जनप्रतिनिधि र समाजसेवीलाई यो पदक दिइनेछ ।
प्रदेश समाज सेवा श्री : समाजसेवा, शिक्षा, स्वास्थ्य, वातावरण, दिगो विकास, समाज सुधार, सांस्कृतिक बिषयमा उल्लेख्य योगदान गर्ने व्यक्तिलाई यो पदक दिइनेछ ।
प्रदेश मेधावी पदक : कला, भाषा, साहित्य, संगीत, शिक्षा, खेलकुद विद्यामा उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई यो पदक दिइनेछ ।
प्रदेश विद्याभूषण : यो पदक प्रदेशभित्रका विश्वविद्यालयबाट विद्यावारिधी गरी प्रदेशमा बसोबास गर्ने व्यक्तिलाई दिइनेछ ।
प्रदेश सेवा उत्कृष्ट पदक : इमान्दारीपूर्वक, उत्कृष्ट एवं प्रशंसनीय काम गर्ने प्रदेश सरकार मातहतका मन्त्रालय, कार्यालय तथा कर्मचारीलाई यो पदक दिइनेछ ।
प्रदेश शैक्षिक उत्कृष्ट पदक : शैक्षिक क्षेत्रमा सर्वाेत्कृष्ट योगदान पुर्याएका विद्यालय, प्रधानाध्यापक र विश्वविद्यालयका पदाधिकारीलाई यो पदक दिइनेछ ।
प्रदेश गौरव पदक : यो पदक प्रदेश सरकारले मनोनित गरेका विभिन्न निकायमा सेवारत रही कुशलतापूर्वक अनुकरणीय जिम्मेवारी पूरा गर्ने व्यक्तिलाई दिइनेछ ।
प्रदेश विभूति पदक : संघीयता स्थापनाका लागि जीवन आहुती दिनेलाई यो पदक दिइनेछ ।
प्रदेश सुरवीर पदक : विपद् उद्धार क्रममा अभूतपूर्व क्षमता प्रदर्शन गरी वीरता र साहसपूर्ण कार्य गरी उल्लेखनीय योगदान पु¥याउने व्यक्तिलाई यो पदक प्रदान गरिनेछ ।
प्रदेश किसान रत्न पदक : कृषि क्षेत्रमा र अनुकरणीय कार्य गरी उत्प्रेरक भूमिका खेल्ने किसानलाई यो पदक दिइनेछ ।
पर्यटन शिखर पदक : प्रदेशभित्रको पर्यटन क्षेत्रको बिषयमा विभिन्न योगदान, उल्लेखनीय योगदान गरेको व्यक्तिलाई यो पदक दिइनेछ ।
सामाजिक अभियन्ता पदक : सामाजिक सद्भाव छुवाछुत तथा सामाजिक विभेद अभियन्ता, सांस्कृतिक पहिचानका उल्लेख्य योगदान गरेका व्यक्तिलाई यो पदक दिइनेछ ।
पदकसहित नगद पुरस्कार समेत प्रदान गर्न सकिने र नगद पुरस्कारको राशी तथा नगद पुरस्कार सम्बन्धी अन्य व्यवस्था पछि तोकिनेछ ।
पदक रद्द पनि हुन सक्ने
प्रदेश सरकारले कसैलाई दिएको पदक रद्द समेत गर्न सक्छ । विधेयक अनुसार आफूले प्राप्त गरेको पदक कसैलाई बिक्री गरेमा वा बन्धकी राखेमा, पदकको मर्यादा विपरीत हुने गरी पदकको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा पदक रद्द गर्न सक्छ ।
यस्तै, प्रदेशको अपमान वा मानमर्दन गरेका, प्रचलित कानुन विपरीत राष्ट्रको मर्यादामा आघात हुने कुनै कार्य गरेको प्रमाणित भएमा पदक रद्द गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको छ ।
यस्तै, पदक स्वेच्छाले पनि रद्द गर्न सक्ने व्यवस्था विधेयकमा राखिएको छ । कसैले फिर्ता गर्न चाहेमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुझाउन सक्छन् ।
जानकी पो.