Friday, November 29, 2024
घरक्राइम चेकवीरगंजमा महिला संघको ७४ औं स्थापना दिवस मनाइयो, इजरायलबाट शुभकामना

वीरगंजमा महिला संघको ७४ औं स्थापना दिवस मनाइयो, इजरायलबाट शुभकामना

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २४ श्रावण ।
महिलाको सुरक्षा, सम्मान र रोजगार नै समृद्ध नेपालको आधार भन्ने नाराका साथ वीरगंजमा महिला संघको ७४ औं स्थापना दिवस मनाइएको छ ।
नेपाल महिला संघ जिल्ला कार्य समिति पर्साले वीरगंज स्थित माइस्थान मन्दिर अगाडिको पार्कमा दिप प्रज्वलन गरि सो दिवस मनाएको हो ।
महिला नेतृ उत्तमा प्याकुरेलको प्रमुख आतिथ्य एवं विशिष्ट अतिथि वीरगंज महानगरकी उप प्रमुख सुश्री शान्ति कार्की, महिला संघकी जिल्ला सचिव किरण सरकार, सदस्य जानुका भण्डारी, वीरगंज स्थित कन्या माविका प्रधानाध्यापिका शशीलता गिरी, नगरपालिका बोर्ड सदस्य मनोजा चौधरी, कोपिला कंडेल, चन्द्रावती रौनियार, नेपाली कांग्रेसका जिल्ला सभापति अजय द्विवेदी, नेपाल तरुण दलका केन्द्रिय सदस्य हुकुम सिंह राजपुत, प्रेस यूनियन पर्साका सचिव लाल किशोर सिंह, युवा नेता दिलिप राज कार्की, ध्रुव नेपाल, प्राध्यापक शत्रुध्न गुप्ता, श्याम पटेल, अरुण क्षेत्री, अम्बुज सिंह लगायतको सहभागिता रहेको सो कार्यक्रमका वक्ताहरूले घर, समाज, राष्ट्रमा महिलाहरुले सामना गर्नु परेका पीड़ा, हिंसा, विभेद, तथा अपहेलनालगायतबाट छुटकारा दिलाउन मंगला देवी सिंहले ७४ वर्ष अघि नेपाल महिला संघ स्थापना गरि न्याय र संघर्षको प्लेटफार्म तयार गर्नु भएको दिनलाई सम्झनामा मात्र सीमित गर्न नहुने कुरामा जोड़ दिएका थिए ।
कार्यक्रमका वक्ताहरुले अधिकार मागेर पाउन नसकिने भएकोले खोसेर लिनु पर्ने बेला आएको समेत बताए ।
वक्ताहरुले महिला सम्मान र समानताको नारा एवं भावनालाई व्यवहारमा लागु गर्न पाउने उत्प्रेरणा प्रदान गर्ने शक्ति हामी सबैलाई मिलोस् भन्ने कामनाका साथ नेपाली कॉंग्रेस निकट नेपाल महिला संघको ७४ औं स्थापना दिवसको अवसरमा देश विदेशमा रहनु भएका सम्पूर्ण कर्मशील महिलाहरूमा हार्दिक एवं शुभकामना व्यक्त गरेका थिए । सो कार्यक्रम विद्यादेवी श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।
उता नेपाली काँग्रेस निकट नेपाली जनसम्पर्क समिति इजरायलकी अध्यक्ष दीपिका भुसालले महिला संघ स्थापना दिवसको अवसरमा शुभकामना सन्देश प्रेषित गर्नु भएको छ ।
अध्यक्ष भुसालले प्रेषित गर्नु भएको सन्देशमा भनिएको छ, “सदियौं देखि बाल विवाह, घरेलु/सामाजिक हिंसा, बलात्कारलगायत सबैखाले विभेद विरुद्ध महिला संघर्ष र आन्दोलनका अगुवाई गर्न ७४ वर्ष अघि महिला संघ स्थापना गर्नु हुने मंगलादेवी सिंह प्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दै देश विदेशमा रहनु भएका सम्पूर्ण कर्मशील महिला दीदी बहिनीहरुमा महिला संघ स्थापना दिवसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”
अध्यक्ष भुसालद्वारा प्रेषित सन्देशम अगाड़ी भनिएको छ, “आज पनि महिला मुक्ति आन्दोलनका योद्धाहरुले थालनी गरेको लैंगिक समानता र सामाजिक समावेशीकरणको मुद्दाले साकार रुप पाएको छैन । महिलाहरूको सहभागितालाई लैङ्गिक प्रतिनिधित्वको मापदण्ड पुरा गर्ने माध्यमको रुपमा मात्रै हेर्ने प्रवृत्ति हावी छ। जबसम्म महिलाहरु राजनैतिक, सामाजिक रुपान्तरणका सहयोद्धा हुन्, सहयात्री हुन् भन्ने यथार्थतालाई राजनैतिक नेतृत्वको स्वीकार गर्ने सामर्थ्य र भावना व्यवहारिक रुपमा आउन सक्दैन तबसम्म दिगो विकास र रुपान्तरणको कुरा देखाउने दाँत मात्रै हुनेछ । २१औं शताब्दीमा आइपुग्दासम्म महिला अधिकार मागेर लिने, निगाहामा लिने चीजबीजको रुपमा बुझिने परम्पराको अन्त्य गर्नका लागि नेपाल महिला संघ रणनीतिगत रुपले अगाडि बढ्नुको बिकल्प छैन। जय नेपाल ।”
अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -