Tuesday, October 15, 2024
घरक्राइम चेकपत्रकारको कार्ड देखाएर खसीको तस्करी

पत्रकारको कार्ड देखाएर खसीको तस्करी

एसपीलाई झुक्याउँदै यसरी गरिन्छ तस्करी
वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्तले तस्करी नियन्त्रणका लागि अनेकन प्रयत्नहरू गरिरहेकी छन् ।

लकडाउनका समयमा जिप्रकाका जिम्मेवार अधिकृतहरूको ध्यान कोरोना रोकथामतिर भइरहेका बेला मातहतका थाना–चौकी र मुख्य भन्सार नाका इनर्वाबाट प्रहरी सेटिंगमा तस्करी भइरहेको समाचार नव जनप्रहारमा बारम्बार प्रकाशित भइरहेको थियो । लकडाउनका समयमा पनि तस्करी भएको समाचार लेख्दा धेरैले झुटो आरोप पनि लगाएका थिए तर जब भिडियोसहितका तथ्यहरू सार्वजनिक भएपछि र जिप्रकाको क्राइमब्रान्च टोलीले नै धमाधम तस्करीका सामानहरू पक्राउ गर्न थालेपछि तस्करी भइरहेको कुरा पुष्टि भएको थियो ।

तस्करहरूसँग मिलेर इनर्वा, इनर्वागाउँ, भिस्वा, जानकी टोला, सिर्सियालगायतका ठाउँहरूबाट मदिरा, छोहडा, केराउ, मरीचलगायतका सामानहरू भारततर्फ तस्करी भइरहेको र भारतबाट पानपराग, गुट्खा, रजनीगन्धा, श्रीनिवासलगायतका सूर्तिजन्य सामाग्रीहरू नेपाल तस्करी भइरहेको थियो । अहिले पनि त्यो तस्करीको क्रम रोकिएको छैन ।

जिल्लालाई झुक्याएर मातहतका सीमावर्ती थाना–चौकीबाट खुलेआम तस्करी भइरहेको कुरा छापाहरूमा आएपछि एसपी गंगा पन्तले क्राइमका प्रहरी निरीक्षक रविभूषण यादवको नेतृत्वमा पठाएको टोलीले तस्करी गर्दै गरेका अवस्थामा धेरै सामानहरू बरामद गर्न सफल भएको थियो । एसपी पन्तलाई यसरी नै गुमराहमा राखेर विगत एक सातादेखि भारतबाट खसी बोकाको तस्करी व्यापकमात्रामा भइरहेको छ । भारतबाट खसी बोका नेपाल ल्याउनका लागि पशु क्वारेन्टाइनको स्वीकृति अनिवार्य हुन्छ ।

यसबाहेक सरकारले एउटा खसी बोकाको ५५ सय भारु मूल्यांकन राखी त्यसको १० प्रतिशत भन्सार र ५ प्रतिशत अन्तशुल्क तिर्नुपर्ने कानुनी व्यवस्था गरेको छ । यस अर्थमा हेर्दा पनि भन्सार र अन्तशुल्क गरी १५ सय ६० रूपैयाँ तिर्नुपर्ने हुन्छ तर एक रूपैयाँ पनि भन्सार नतिरी दुवै प्रहरीको सेटिंगमा इनर्वागाउँबाट दैनिक झण्डै सय वटा खसी बोकाको तस्करी नेपालतर्फ हुँदै आएको छ । यो खसी बोकाको तस्करीको ठेक्का गयासुद्दीन देवानले गर्दै आएका छन् । पत्रकारको कार्ड देखाएर उनले यस्तो धन्दा गर्दै आएको यहाँका स्थानीय सञ्चारकर्मीहरू नै बताउँछन् ।

इनर्वागाउँस्थित प्रहरी चौकीका असई देवराज खतिवडा र सोही स्थानमा खटिने सशस्त्र प्रहरी बलको वीरगञ्जस्थित भन्सार गुल्मका ड्युटीमा खटिने प्रहरीहरूलाई मिलाएर गयासुद्दीनले दैनिक झण्डै सय वटा खसी बोका तस्करी गरी नेपाल भित्र्याउँदै आएका छन् । देवानले भारतबाट खसी बोका तस्करीका लागि ८ वटा मोटरसाइकल चालु हालतमा राखेका छन् र उक्त मोटरसाइकलमा एउटाले चलाउने र अर्को पछि बसी बीचमा २ वटा खसी बोका हालेर दैनिक अवस्था हेरेर ७–८ पटकदेखि १० पटकसम्म पनि ल्याउने गरेको सीमाका स्थानीयहरू बताउँछन् । जतिवटा खसी बोका ल्याए पनि क्वारेन्टाइनका कर्मचारीको नाममा १८ सय रूपैयाँ बुझाउने काम पनि उनले गर्दै आएका छतन् । तर क्वारेन्टाइनको रसिद देखाउन भनी केबल २ देखि ३ सय रूपैयाँमात्रै तिरेर सिफारिशवापतको रसिद लिने गर्दछन् ।

यसरी दैनिकरूपमा भित्रने ठूलो संख्याको खसी बोका वीरगञ्जमा मात्र नभई हेटौँडादेखि निजगढसम्म पुग्दछ । लकडाउन हुनुभन्दा अघिसम्म त यसरी देवानले भित्र्याएका तस्करीका खसी बोका काठमाडौँ र पोखरासम्म बसको डिकीमा हालेर पुग्ने गर्दथे । अहिले सार्वजनिक सवारी साधन नगुडेका कारण बारा, पर्सा, मकवानपुर र सर्लाहीसम्म पुग्ने गरेको समेत समाचारस्रोत बताउँछ ।

पत्रकारको कार्ड भिरेर तस्करी गर्न र गराउन कसलाई छुट छ ? के ऊ कानुनभन्दा माथि छ ? भन्ने प्रश्न यहाँ बारम्बार उठे पनि देवानले सशस्त्रको भन्सारस्थित गुल्ममा र जिप्रका पर्सा, इनर्वा भन्सार, इनर्वागाउँसमेतका केही चौकीलाई सित्तैमा मासु उपलब्ध गराएर र इनर्वागाउँ र त्यहाँ खटिने सशस्त्रका ड्युटीका प्रहरीहरूलाई रकम दिएर खसी बोकाको तस्करी हुँदै आएको छ ।


खसी बोकाका अलावा भारतीय सीमा बजार रक्सौलबाट दैनिक झण्डै एक दर्जन मोटरसाइकलमा प्लाष्टिकका बोरामा कुखुराको मासुसमेत भित्रन थालेको छ । भारततर्फबाट काटिएको कुखुराको मासु खुलेआम भित्रिरहेको कुरा इनर्वास्थित प्रहरीलाई थाहा नभएको पनि होइन । तर, प्रहरीले कहिले पनि पक्राउ गर्दैन । बरु उल्टो छोडेवापत मासु उपहार पाउँदै आएको छ । हरेक मोटरसाइकलमा ३० देखि ४० केजी तयारी मासु प्लाष्ट्रिकका बोरामा प्याक गरी नेपाल भित्रने गर्दछ । भारतको रक्सौलमा खसीको मासु प्रतिकेजी ६ सय ५० रूपैयाँ नेपाली पर्दछ तर वीरगञ्जमा लकडाउनपछि प्रतिकेजी हजार रूपैयाँमा बिक्री हुने गर्दछ । यो ठूलो रकमको फरकका कारण पनि भारतीय खसी–बोका नेपाल भित्रने गर्दछ । यसरी खसी–बोका नेपाल भित्र्याउन सहयोग गरेवापत र पक्राउ नगरेका कारण ड्युटीमा खटिएका जवान र हवल्दारलाई ५० रूपैयाँका दरले घुस दिने काम व्यवसायीले गर्दै आएका छन् ।

प्रहरीलाई घुस मिलाउने र भारतबाट खसी–बोका एवम् तयारी कुखुराको मासु नेपाल भित्र्याउन सहयोगीको भूमिका यिनै गयासुद्दीन देवानले गर्दछन् । उनी आफूलाई कुखुरा व्यवसायी संघको सचिव भन्न पनि रुचाउँछन् । दिनभरि जसो इनरुवा बोर्डरमा झोला लिएर बसिरहेका हुन्छन् देवान । उनले नै प्रहरीसँगको सेटिङ मिलाउने र कुखुरा एवम् खसी–बोकाका व्यवसायीहरूबाट रकम असुली मिलाउने काम गर्दैआएका छन् । जिप्रकाका एक अधिकृतका अनुसार यसरी मिलाइदिएवापत जिल्ला प्रहरी कार्यालयलाई १० केजीका दरले हप्तामा २ दिन खसीको मासु र एक दिन कुखुराको मासु, वडा प्रहरी कार्यालय विर्तालाई हप्तामा २ दिन ५ किलो खसीको मासु र एक दिन कुखुराको मासु, त्यसैगरी इनर्वागाउँस्थित प्रहरी चौकीका असई देवराज खतिवडालाई हप्ताको २ दिन ३ केजी खसीको मासु र एक दिन कुखुराको मासु एवम् मन्दिर पोष्टका असईलाई हप्ताको २ दिन २ केजी खसीको मासु र एक दिन कुखुराको मासु दिने गरी मिलाउने कामसमेत हुँदै आएको थाहा भएको छ ।

साभारः नवजनप्रहार

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -