Monday, December 9, 2024
घरक्राइम चेककार्कीको कलम: जुन गोरुको सिंग छैन त्यसको नाम तिखे

कार्कीको कलम: जुन गोरुको सिंग छैन त्यसको नाम तिखे

– स्वयम्भुनाथ कार्की

आजकल यो उखान त्यति प्रयोगमा आउँदैन । तर हेर्ने हो भने विगतका तीस बर्षे अवधीमा सबै खाले अगुवाहरुले प्रजातन्त्र फलाकी रहे । त्यो आफैले फलाकेको प्रजातन्त्र पनि ठिक लागेन अर्को न्वारण गरियो लोकतन्त्र भनेर । त्यो पुनर्स्थापना भएको दावी गरियो । त्यसभन्दा पहिलेको २९ वर्ष ४ महिनालाई तानाशाही भनियो । त्यसलाई सामन्ती भनियो, कालो युग भनियो । अर्थात भन्न केही बाँकी राखिएन । त्यो कालखण्डलाई गाली गरेपछि विलोमको रुपमा यो कालखण्ड आफै प्रजातन्त्र भयो, लोकतन्त्र भयो । सामन्ती भएन, उज्यालो युग भयो । तर होहोरेमा अरुले जे भन्यो त्यही मानेर कुद्ने चेतनास्तर बढेको भनिएकाहरु तथ्य र उदाहरणको आधारमा यो कुरा ठिक हो भन्न सक्छन त ?

अर्थात यो दलतन्त्र, अझ भनौ हातका औलामा गन्न पुग्ने केही नेताहरुका हैकमलाई प्रजातन्त्र वा लोकतन्त्र भनिनु नै “जुन गोरुको सिंग छैन त्यसको नाम तिखे” हो । यो पढ्ने वित्तिकै मलाई व्यक्तिगत स्तरमा उत्रेर तथानाम गर्न धेरैको मुख चिलाई सकेको हुनु पर्दछ । मलाई फलाना चिलानाको पैसाले किनिएको भन्न बेर लाग्दैन चेतनास्तर बढेको भनेका समुहलाई । अर्थात कस्तो चेतनास्तर बढेको छ त, कुनै कुरा सुन्ने वित्तिकै गुन्दै नगुनी खनिनेहरुको ? तर लोकतन्त्र यदि ठोकतन्त्र वा जोकतन्त्र होईन भने भनुन्, जो दलहरुको उच्चस्तरिय समितिले पनि कुनै निर्णय गर्ने अधिकार शीर्ष नेतालाई दिन्छ भने त्यो लोकतन्त्र हो कि तानाशाही ? लोकतन्त्रमा त निर्णय गर्ने अधिकार नागरिकहरुको हैन ? हो यो अधिकार प्रयोगको विभिन्न तरिका हुन सक्छ, तर अधिकार शीर्षस्थ नेताको हैन नागरिकहरुको हो ।

यहाँ मैले जनता शव्द प्रयोग नगरेर नागरिक शव्द प्रयोग गरेको छु । किनभने जनता र नागरिक समानानार्थी शव्द होइनन् । जनता अमुर्त नागरिकहरुको समुह हो जसलाई जसले पनि आफ्नो मर्जीले जनताको मर्जी हो भन्छ । किनभने जनताको सामुहिक परिचय त होला तर संबोधन गर्न सकिने परिचय हुँदैन । नागरिक त्यही जनताको सबैभन्दा तल्लो आधारभूत एकाई हो जसको परिचय संबोधन गर्न सकिने हुन्छ । अलि अलमल भयो होला एक उदाहरण दिन्छु । मानौं कहिं कतै कुनै अपराध भयो भनियो जनताले गरे, त्यो अपराध गरे वापत जनतालाई सजाय दिन सकिन्न । किनभने जनता केवल एक अवधारणा हो, समुह पनि हैन । तर त्यसमा नागरिकलाई वा समुहले कुनै अपराध गरे तीनीहरुलाई सजाय दिन सकिन्छ । यही कुरा राम्रो काम गरेकोमा पुरस्कारको निमित्त पनि लागु हुन्छ ।

दलहरुले यस्तै जनताको प्रतिनिधित्व गरेको दावी गर्छन् । जनता एकाई हैन एक अमूर्त अवधारणा मात्र हो त्यसैले उनीहरु आफ्नो काम, लोभ, लालसा सबैलाई जनताको टाउकोमा थोपरिदिन्छन् । मध्यकालमा यस्तो कुरा कसै न कसैको नाममा थोपरिन्थ्यो । चाहे प्रजातान्त्रिक चेतना होस वा सामम्यवादी चेतना दुवैले यसलाई नागरिक माथि गरिएको बलजफ्ती माने । त्यसैलाई समाप्त पार्न लामो संघर्ष चल्यो, वैचारिक तथा रक्तरंजित दुवै । त्यसले स्थापना गरेको प्रजातन्त्रमा व्यक्तिको सर्वोच्चता, र साम्यवादमा सर्वहाराको सर्वोच्चता हो । यो नै अहिले दलतन्त्रले आफुलाई भन्ने गरेको लोकतान्त्रिक पद्धति हो । तर कुनैपनि दलमा, दलका नेताहरुमा, दलका कार्यकर्ताहरुमा लोकतन्त्र भन्न सुहाउने कुरै छैन । त्यसैले जुन गोरुको सिंग छैन त्यसको नाम तिखे ।

नागरिकको सर्वोच्चता भनेको निर्याय प्रक्रियामा नागरिकको संलग्नता हो । तर कुन त्यस्तो दल छ जसले नियमित उच्चस्तरिय समितिको बैठक बसेको होस ? बल्लबल्ल बसेको वैठकमा पनि वार्तालाप हुन्न एकालाप हुन्छ । अर्थात सदस्यहरुले एकसरो बोल्छन् । अनि अन्तमा नेताले आफ्नो मर्जीको कुरा पारित भयो भनेर हैकम चलाउँछ ।

यसमा यो दल वा त्यो दल भन्ने कुरै छैन । मुलुकको सर्वोच्च विधायिकामा हुने छलफल हेर्ने हो भने त्यहाँ पनि समय तोकेर एकालाप नै हुन्छ । तर्कवितर्क, छलफल गरेर निर्णय हुने कुरा त संभव नै छैन । ध्वनीमतले प्रस्ताव पारित हुन्छ । अर्थात जसको स्वर ठूलो सुने भनेर अध्यक्षता गर्नेले ठान्छ त्यही पारित हुन्छ । उसैपनि जनताका प्रतिनिधि भनेकाहरु दलको कोर्राको डरले मतदान गर्छन् । कोर्रा शव्द कडा लागे ह्विप भन्नुस अंग्रेजीमा ह्विप नेपालीमा कोर्रा । त्यसैले जुन व्यवस्था वास्तवमा नेतातन्त्र हो अलि उदार भन्ने हो भने दलतन्त्र हो त्यो आफुलाई प्रजातन्त्र भन्छ । भएन त सिंह नभएको तिखे गोरु ? विराटनगर- १

(२०७६ पुस १० गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -