Saturday, July 27, 2024
घरविचारधर्म संस्कृतितीजः पर्व कि महोत्सव ?

तीजः पर्व कि महोत्सव ?

– सुजाता श्रेष्ठ घिमिरे

वर्ष दिन पछि आउने नेपाली महिलाहरुको महान चाड तिजको रमझम चारै तिर देखिएको छ । तिजको पर्वमा अघिपछि भन्दा अलि बढी स्वतन्त्र, स्वछन्द र उन्मुक्त हुन्छन । एक प्रकारले वातावरण नै रमणीय हुन्छ । महिलाहरुको अनुहार नै रसिलो र हँसिलो हुन्छ । बर्षा महिनामा पर्ने तिज पर्वमा जताततै हरियाली मात्र हुन्छ । विशेष गरी शिव पार्वती र ऋषिहरुको पूजाआजा गरिने तिज पर्वमा कुशे औंशी पछिको तृतियाको दिन र पंचमीको दिन शिवालय लगायत सबै मन्दिरमा पूजा गर्ने महिलाहरुको भींड लाग्दछ । द्वितियाको दिन आफ्ना घर परिवार र इष्टमित्रका साथमा बसेर दिन र रातमा महिलाहरुले मिठा मिठा परिकार पकाएर तथा बजारबाट खरिद गरेर खान्छन । तृतियाको दिन दिनरात ब्रत बसेर घरपरिवारमा सुख शान्ति, समृद्धि र सुखद अटल दाम्पत्य जीवनको कामना गर्दछन । हरितालिका तिज पर्वको रमझम देशैभर एक महिना देखि हुन्छ । ऋषि पंचमीका दिन सप्तऋषिहरुको पूजा पछि तिज सम्पन्न हुन्छ । सप्तऋषिका पूजा शुद्ध शरीर र पवित्र मनले महिलाहरुले गर्छन । विशेष गरी तिज पर्वमा महिलाहरुले हाँस्ने, नाँच्ने गीत गाउने मिठा खानेकुरा परिवार, इष्टमित्र र साथीहरुका बीचमा बसेर खाने गर्दन् । तिज पर्व व्यापारीहरुका लागि लुट्ने, कमाउने महिना हो । तिज आएपछि आश्चर्यजनक तरिकाले बजार भाउ महंगो हुन्छ । आइमाइहरुले लगाउने गर गहना, पहिरन श्रृंगारका सामग्री नयाँ डिजाइनका बजारमा उपलब्ध हुन्छ । वर्तमान समय फेशन र बिज्ञापनको हो । नाना थरिका आकर्षक पहिरनको सट्टा तिजका दिन सबै महिलाले रातो साडी नै लगाएका हुन्छन । यो साडीको पर्व पनि हो । हरितालिका तिज व्रत तृतीया र ऋषि पंचमी, गणेश चतुर्थी का दिन जताततै राताम्यै हुन्छ । तृतिया र पंचमीका दिन महिलाहरुलाई सार्वजनिक बिदा दिइन्छ । यी दुई दिनमा महिलाहरुले नाँच्ने गाउने, पूजा आजा गर्ने बाहेक अरु केही काम गर्दैनन् । महिलाहरुको विशेष पर्व तिजले सबै महिलाहरुलाई हर्षित बनाएको हुन्छ । महिलाहरुले सबै दुःख, पीडा, वेदना तीज पर्वमा नाँचेर तथा गाएर बिर्सिका हुन्छन । को धनि, को गरिब, को हुनेखाने, को हुँदा खाने सबै महिलाको एउटै इच्छा, आकांक्षा सुखद र अटल दाम्पत्य जीवन नै हो । वैदेशिक रोजगारले लोग्ने स्वास्नी एकै साथ बस्ने रमाउने अवसर छिनेको छ । तिजको बेलामा आफ्नो लोग्ने आफ्नो साथमा नहुँदा दुःखित बन्दा रहेछन् । एकल (विधवा) महिलालाई तीज पर्व पीडादायी हुन्छ । दम्पतिहरु भएको घरमा तिजको रौनक बढी हुन्छ । अविवाहित महिलाहरुले राम्रो वर र अटल दाम्पत्य जीवनको कामना ईश्वरसँग गर्दछन् ।

तिज पर्वकै अवसरमा पर्ने गणेश चतुर्थीका दिन भव्यताका साथ जताततै गणेश भगवानको पूजा गरिन्छ । गणेश चतुदर्शीका दिन चन्द्रमाको दर्शन गर्नाले दोष लाग्ने र गणेशको पूजा गर्नाले दोष र झुठो कुराबाट मुक्त होइने जन विश्वास छ । नेपालको हिमाल, पहाड र तराई मधेश जताततै महिलाहरुले तिज पर्व मनाउँछन । यो हिन्दु महिलाहरुको मात्र चाड भए पनि सबै महिलाहरुले तिज पर्वमा आनन्द लिएका हुन्छन् । तिज पर्वमा नयाँ नयाँ गीत–संगीत बनेका छन् ।  एक महिना अघिबाट तिजका गीतहरु एफ.एम. रेडियोबाट बजाएर निरन्तर मनोरञ्जन दियो सबै ठाउँमा तिजका गीत गुन्जिएका छन् । होटल, पार्टी हल, क्याटरिङ महल, घर, कार्यालय जताततै तिजका कार्यक्रम आयोजित भएका छन् । प्रत्येक टोल, बस्तीमा तिजका कार्यक्रम गरिंदै छ ।  तिज कार्यक्रमलाई धेरै व्यवसायिक कम्पनीहरुले विज्ञापन सौजन्य गरेर सहयोग गरे । तिज पर्व नभएर महोत्सव भएको छ । दशैं चाड जस्तै देखियो तिज पर्व । ब्यापारीहरुले तिजमा अफर, सेल भनेर केही मूल्य छुट पनि गरेका छन् । जताततै, गाउँ, शहरलाई तिजले रमाइलो बनाएको छ । सबै महिला एकैसाथ रमाउने गर्छन् । तिज पर्वमा स्वस्थ प्रतिस्पर्धा देखिंदैन । महिलाहरुको अनुहार हाँसे पनि मन हाँसेको देखिन्न । केही दिन अघि भारी र अविरल बर्षाले पहाड र तराइ मधेशमा पुर्याएको धनजनको अपार क्षतिले गर्दा तीज जति रमाइलो बन्नु पर्थ्यो, त्यति बन्न सक्ने अवस्था छैन ।

तिजमा महिला मात्र होइन पुरुष पनि रमिन्छन् । नाँच, गानको थलोमा पुरुषहरु पनि झुम्मिएका देखिन्छन् । तिज पर्वमा महिलाहरु स्वछन्द हुन्छन् । नाइटो प्रदर्शन महिलाहरुबाट पछिल्ला समयमा निकै भएको पाइन्छ । तिजको महत्व अघिल्लो वर्षको भन्दा झन बढेको छ । श्रृंगारका सामग्री, साडी, चुरा–पोते, गहना, खानेकुराको बिक्री अघिल्लो वर्षको अनुपातमा निकै बढेको छ । गरगहनाको प्रदर्शन खुबै थियो । गह गहनाले सज्जिएका महिला सुरक्षित छन् । कलाकारहरुले तिज महोत्सव देशका बिभिन्न स्थानमा मनाइरहेका छन् ।

तराइ–मधेशका मधेशी महिलाहरुले पनि राम्रो पहिरनका साथ मिठो खानेकुरा खाएर तिज पर्व मनाउन थालेका छन् । तिज पर्व कुनै जाति र धर्म विशेषको होइन, सबै नेपाली महिलाको साझा पर्व बन्दै गएको छ । समयको बदलिदो परिवेशसँगै महिलाहरुले परापूर्व काल देखि मनाउँदै आएको तिजको महत्व प्रत्येक बर्ष बढ्दै गएको छ । यो खर्चालु चाड भए पनि बोझिलो बनि सकेको छैन । तिज पर्व नमनाउने महिलाहरु हेर्दा दिक्क लाग्दछ । उनीहरुको अनुहार नैै उदास र मलिनो देखिन्छ । अरु हाँसेको बेला उनीहरु रुन लागेको जस्तो समाजबाट टाढिएको जस्तो लाग्छ । तिज पर्व नमनाउने महिलाहरुको नगन्य संख्या छन् ।

तिजको महिना भनेको बिवाहित महिलाले आफ्नो पतिको दीर्घायूको कामना र अविवाहित युवतिले राम्रो कामना सहित पूजाआजा गरि व्रत बस्नु नै हो । तिजको व्रतलाई कठिन व्रत मानिन्छ । तिजको परम्परालाई दिगो र दरिलो पार्नु हिन्दु महिलाहरुको कर्तव्य हो । परम्परा र धर्मको रक्षा हामीले गर्यौ भने उसले पनि हाम्रो रक्षा गर्दछ । प्राकृतिक प्रकोप, दैविक बिपत्ति, रोग, व्याधि, संकट, अभाव दरिद्रताबाट हामीलाई टाढा राख्दछ । आध्यात्मिक रुपमा पनि तनावपूर्ण रुपमा गरेको साधना, पूजाआजा, व्रतको फुल नहुने कुरा बिभिन्न धर्मशास्त्रमा उल्लेख गरेको छ । व्यस्त रहनु पर्ने बर्तमान समयमा पर्वले केही फुर्सद दिएको हुन्छ । मन र शरीरलाई आनन्द दिलाउँछ । हामी सबैका लागि बाँच्नु पर्दछ । धेरै समय सबैलाई हँसाएर, सबैको सेवा गरेर बाँच्न सक्नु पर्दछ । तिज पर्वमा परिवारका सदस्य, छिमेकी, इष्टमित्र, साथीभाई जम्मा भएर मनका वेदना, पीडा, जीवनका कथा व्यथा, मनभरि गुम्सेका संवेग, भावना, उकुसमुकुस विसर्जन भइ नयाँ भावना र बिचार उत्पन्न हुन्छ । यो संसार यस्तै रहेछ भनेर मन बुझाउन सजिलो हुन्छ । महिलाहरुले गीत गाएर पनि विद्यमान समस्या, विकृति, विसंगति, बेथिति, उच्छृखंलता, अराजकता, अन्याय, गलत संस्कृति, संस्कार खराब प्रवृत्तिको बिरोध गरिरहेका हुन्छन् । घर परिवार, समाज र देश सभ्य, संसकृत, सुखी र समृद्धि होस भन्ने चाहना सबैको हुन्छ ।

तिजका अवसरमा दरका लागि जुटाइएका खाद्य सामग्री गुणस्तरहीन हुने गरेका छन् । मिलावट र मिसावटको समस्या हुँदैछ, मंहगीको पिरलोले छाडेको छैन । विषादीको प्रयोग गरेको फलफूल र तरकारी बजारमा उपलब्ध भइरहेकाले तिजले कतिलाई बिरामी पनि पार्दछ । सम्पत्ति भन्नु नै स्वास्थ्य हो । स्वास्थ्य बिग्रियो भने घर परिवारमा गम्भीर समस्या आइपर्दछ । तिजको दर खाँदा सतर्क हुन जरुरी छ । तिज पर्वको देखासिकी तडक भडक, आडम्बरको बढी आलोचना भइरहेको छ । परम्परालाई आधुनिकता तर्फ लैजाँदा विकृति, विसंगति भित्र्याउनु हुँदैन । तिजको मौलिकता नै नष्ट पार्ने काम कहिंकतै कसैबाट हुनु हुँदैन । क्रिश्चियन महिलाहरुले तिज पर्वको विरुद्ध भ्रम फैलाइरहेका छन् । समय परिवर्तन क्रमसँगै हामीले तिजको मौलिकतामा कुनै आँच नपुग्ने गरी आफ्नो धर्म संस्कृति र परम्परालाई जोगाउनु पर्दछ । तिज महिलाहरुको सोह्र श्रृंगारमा सजिने पर्व हो । सौभाग्यको शुभ कार्यको पर्व हो । विघ्न वाधा नाशक अग्रपूज्य भगवान गणेश र परमपिता परमेश्वर परमात्मा देवाधिदेव शिव–पार्वतीको भक्ति भावले पूजा गर्ने पर्व हो । तिज पर्वले घर परिवारमा सुख, शान्ति र समृद्धि छाउँछ । हिजोआज तिज राजनीति प्रभावबाट मुक्त हुँदै गएको छ । राजनीति परिवर्तन नहुञ्जेल तिजलाई राजनीति स्वतन्त्रताको रुपमा पनि उपयोग गरिएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -