काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एक कार्यक्रममा भने, ‘कम्युनिस्ट नेता राजा–महाराजजस्तै देखिन थाले ।’ कुन कम्युनिस्ट पार्टीका नेतालाई उनले त्यस्तो देखे ? त्यो खुलाएनन् । उनकै जीवनशैली भने राजा–महाराजाभन्दा रत्तिभर कम छैन ।
राजा–महाराजा दरबारबाट निस्किँदा लावालस्कर लाग्थ्यो । आसेपासेले घेरिन्थे । जताततै जयजयकार हुन्थ्यो । सडकमा हिँड्दा फूलको वर्षा हुन्थ्यो । सानसौकतका लागि विदेश सयर गर्दथे । उनीहरू धर्तीका देवता मानिन्थे । त्यही भएर एक समय राजालाई भगवान्को अवतार मानिन्थ्यो ।
राजा–महाराजा बिरामी पर्नेबित्तिक्कै विदेशका ठूला अस्पताल जान्थे । त्यसको खर्च जनताको करबाट तिरिन्थ्यो । उनीहरूले जसलाई चाहे त्यसलाई सत्तामा ल्याउँथे । जतिसुकै अपराध गरे पनि कानुनको दायरामा आउँदैनथे । उनीहरू कानुुनभन्दा माथि थिए । उनीहरूको आदेश नै कानुनसरह हुन्थ्यो ।
उर्दू सायर मिर्जा गालिबको एउटा पंक्ति छ
उम्र भर गालिब यही भूल करता रहा
धूल चेहरे पर थी आईना साफ करता रहा ।
गालिबको यो पंक्ति प्रचण्डले सम्झने कि ? आफ्नो मुहारमा धुलो छ तर उनी ऐना सफा गरिरहेछन् । ऐना जति सफा गरे पनि उनको मुहारमा जनयुद्धकालदेखिकै धुलो जम्मा भइरहेको छ ।
राजा–महाराजालाई झैं प्रचण्डलाई पनि लावालस्कर मिल्छ सडकमा । उनी घरबाट निस्केलगत्तै सार्वजनिक गाडी चढेर गन्तव्य पुग्दैनन् । उनका अगाडि–पछाडि राजाको भन्दा कडा सुरक्षासहितको लावालस्कर चल्ने गर्दछ । के उनलाई सर्वहाराका नेता भन्ने ? प्रचण्डको लावालस्कर सडकमा निस्किँदा जयजयकार हुन्छ । जिन्दावादको जयजयकार सुन्दा उनी आधा मुस्कुराएर टाउको हल्लाउने गर्दछन् । राजा–महाराजाले ‘बुझें–बुझें’ भन्ने शैलीमै उनको भावभंगी झल्किन्छ । उनले त्यो बेला थाहा अभियन्ता रूपचन्द्र विष्टलाई सम्झे हुन्थ्यो । गला पुरिने गरी माला नलगाए के जान्थ्यो ? महाराजाजस्तै भगवान्को अवतार नसम्झे सर्वहाराको नेता हुन्थे कि ?
उनी कसको रकमबाट विदेश सयर गर्छन् ? उपचार गर्न कुन स्रोतले महँगो–महँगो अस्पतालमा पुग्छन् ? अमेरिकादेखि दुबईसम्म उनको यात्रामा राज्यकोषकै दोहन भएको छ । उनले चढ्ने गाडीदेखि बस्ने वासम्म सरकारी खर्चमै चलेको छ । राजा–महाराजाजस्तै उनले पनि राज्यकोष दोहन गरिरहेका छन् ।
राजा–महाराजा परिवार र नातेदारको सानसौकतमा ध्यान दिने गर्दथे । प्रचण्ड पनि त्यसमा पछि परेका छैनन् । उनको परिवारका अधिकांश राज्यका विभिन्न पदमा छन् । छोरी, बुहारी, भाइ, भतिजा, ज्वाइँहरू सबै राज्यकै सम्पत्तिमा सानसौकत जमाइरहेका छन् । छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाउँदा नागरिकको अभिमत च्यातियो । शक्तिकै आडमा छोरीलाई राजकीय पदमा विराजमान गराउन न निर्वाचन आयोगले छेक्यो न त सर्वाेच्च अदालतले लछारपाटो लगायो । इतिहासमै कानुनको खिल्ली उड्यो ।
प्रचण्ड परिवारलाई कानुनले छुन सकेको छैन । युद्धका नाममा १७ हजार निर्दोष नेपाली नागरिक मारिए । त्यसमा एउटा पनि कारबाही प्रचण्डले भोग्नुपरेन ।
राजा–महाराजाजस्तै आसेपासेबाट रमाउने गर्छन् । जसले प्रशंसा गर्यो उसलाई नजिक र आलोचना गर्नेलाई कारबाहीको डन्डा देखाउँछन् । कोसेली उनलाई निकै मन पर्छ । हेलम्बुको मार्फा र डोल्पाको यार्सागुम्बा ‘सीएमलाई गिफ्ट भेटी’ चढाएकोे बाबुराम भट्टराईपत्नी हिसिला यमी अझै सम्झिँदै छिन् ।