– कार्कीको कलम
गणतन्त्र कार्यान्वयनको १३ वर्ष पछि उसले आफ्नो अस्तित्वमा खतरा देख्न थालेको छ । यो कुरा हालसालै भएका घटना, ती घटनामा सरकारको प्रतिक्रिया आदिले प्रष्ट देखाउँछ । गुठीको सम्पत्ती कार्यकर्तालाई बाँड्ने भित्रि मनसायले ल्याइएको विधेयकको विरोध भयो । यो मनसाय हैन भनेर प्रतिरक्षा गर्न आउनेहरुलाई बहसको खुल्ला निमन्त्रण छ तर त्यो विधेयक लिएर आउन । त्यसका दफाहरुमा त्यस्तो मनसाय प्रष्ट झल्केको देखाउने अभिभारा मेरो भयो । यो सबैले बुभ्mने देख्ने आपत्तीजनक कुरा थियो त्यसैले विरोध भयो । नेमकिपा लगायत वामपन्थी आधारका सबै दलहरु यो विधेयकको पक्षमा देखिएका थिए । तै पनि विरोध थाम्न सकेनन अनि विरोधको श्रेय (आरोप हैन) राजावादीलाई दिए ।
गुठी विधेयकको विरोधमा राष्ट्रको परंपरा संस्कृति आदिलाई माया गर्ने सबै नेपाली लागेका छन् । राजावादी नलाग्ने त कुरै भएन, तर उनीहरु राष्ट्रवादी नेपालीको हैसियतले लागेका छन् । राजा आउ देश बचाउ भनेर लागेका छैनन्, परंपरा, संस्कृति देशको परिचय हो त्यो नभए देश रहन्न भनेर आफैं देश बचाउन लागेका हुन । यो विरोधमा लाग्नेहरु आफ्नो राजनैतिक विचारधारा, सम्प्रदाय, जाती, क्षेत्र आदिभन्दा माथि उठेर संस्कृति, परंपरा रक्षाको निमित्त लागेका हुन । तर सरकारले भने गणतन्त्र फाल्न राजावादीले चलाएको आन्दोलन भन्ने बुझ्यो । राम्रो हैन हाम्रो खोज्दा कति लाचार भईसकेछ राष्ट्रको गुप्तचर तन्त्र ?
योगेश भट्टराईले तोकेरै राजावादी पसे भने । भुमीसुधार मन्त्रीको त्यही आशयको वक्तव्य आयो । गृहमन्त्रीले त सातै प्रदेशका प्रहरी प्रमुखलाई राजावादीमाथि निगरानी राख्न निर्देशन नै दिएको खवर आयो । प्रधानमन्त्रीको संसदमा बोल्न नपाएपछि आएको ३७ मिनेटको भाषणमा पनि त्यही डर थियो । उनले प्रमुख प्रतिपक्षीलाई राजावादीलाई सघाएको भने र त्यसो नगर्न अनुरोध गरे । त्यो अनुरोधमा कसरी आफु र प्रतिपक्ष मिलेर गणतन्त्र ल्याउन बलिदान दिएको सम्झाउन खोजे । गुठी आन्दोलन गर्नेलाई राजावादीको उक्साहटमा आन्दोलन गरेको र त्यसो नगर्न अनुरोध गरे । पहिले गर्नुपर्ने छलफल गर्न अव तैयार भएको भने । अर्थात गुठी विधेयक स्थगन हुनुमा राजावादीको प्रभावले भुमिका खेलेको छ । हरेक कुरा उखानटुक्काले हलुका ढंगले प्रस्तुत गर्ने केपीको यो प्रस्तुतीमा त्यो रुप देखिएन । भित्रभित्रै भयक्रान्त भएको अनुभुति हुन्थ्यो ।
गणतन्त्रको यो डर राजावादीको बढदो प्रभावको प्रमाण हो । तर राजावादीको प्रहारशक्ति चाही छिन्नभिन्न छ । कसैलाई प्रसिद्धी चाहिएमा अप्रत्यक्षरुपले राजाको पक्ष लिएको जस्तो गरेर संस्थापनलाई चर्को गाली गरे पुग्छ । राजावादीहरु आफ्नो तन, मन, धन लगाएर त्यसलाई प्रसिद्ध बनाउन उद्धत हुन्छन । जव त्यो पात्रले प्रचार पाइसक्छ उसले आफ्नो सक्कली अनुहार देखाउँछ । यसरी कोही साखुल्ले जस्तो भएर प्रचारित हुन्छ भने कोही गाली गरेर । समाजिक सञ्जालमा महत्व नै नभएको कसैले तथानाम गाली गर्छ । कुनै एक राजावादीसम्म पुर्याउँछ । त्यसपछि त्यसको प्रचार शुरु हुन्छ, फलाना वा फलानीले हामीलाई यसो भन्यो वा भनी । यसलाई गाली गर्नुस भाइरल वनाउनुस भनेर । छिनको छिनमा नै त्यसले उच्च प्रचार पाउँछ ।
यही कुरा लिएर राजावादी भनाउन चहानेहरुको आपसमा झगडा चल्छ । तँ भन्दा म ठूलो भन्ने बिना अर्थको झगडा । कोही दुईचार जना लिएर संगठन बनाउँछन । अनि आफु सक्कली अरु नक्कली भएको कुरा फलाक्न थाल्दछन । चर्का भाषण खाली सडकलाई सुनाउछन, रचनात्मक काम भन्दा जसरी भए पनि समाचारमा आउने ध्याउन्न हुन्छ । जो जनचेतनाको निमित्त चुपचाप काम गर्दै हुन्छ त्यो उनीहरुको निमित्त “कोठे” हुन पुग्छ । त्यही “कोठे”हरु उनीहरुले खाली सडक, कुर्सीलाई सुनाएको भाषणमा समाचार आउने सञ्चार माध्यमहरुमा हमेशा उपस्थित भएको तथ्य हेर्न चहान्नन ।
अलग अलग ससाना समुह खोल्छन अनि अरुलाई एकतामा नआएकोमा गाली गर्दछन । अरु एकतामा नआउने कारण जे भए पनि तपाइ त एकतामा जान सक्नुहुन्थ्यो भनियो भने भर पर्दो नेतृत्व नभएको भन्छन । अर्थात सबैको भनाईमा एकताको विकल्प छैन तर त्यो एकता अरु आफुमा मिलेर हुनु पर्छ । यो सत्य कुरा हो कि राजावादीहरुमा एकता संभव नै छैन । एकता एकता भनेर बालुवाबाट तेल निकाल्ने प्रयत्न निरर्थक हो । तर सहकार्य त संभव छ, साझा सहमतिका कामहरु मिलेर गर्ने, मिल्न नसके समर्थन गर्ने त्यो पनि नसके विरोध नगर्ने । एक समुह वा दलमा एकीकरण हुने वित्तिकै नेतृत्वको हानाथाप हुन्छ । सहयात्रामा सबै अआफ्नो समुहको नेता, हनानथाप हुन्न । कुरा मिलुञ्जेल संगै नमिले पछि अलग अलग । तर यसो नगरेर प्रभाव भने भएको तर प्रहार शक्ति भने नभएको भएर बस्न मै अहं तुष्टि हुन्छ भने कसले पो के गर्न सक्छ र ? विराटनगर १
साभारः क्राइमचेक