– कविता
भारतमा हालैका बलात्कार र हत्याका दोषीलाई मृत्यु दण्ड सुनाएछ अदालतले । तलको बिचार विवादास्पद हुन सक्छ, र अरूले च्यालेन्ज गर्न सक्छन् । तर म सत्य बोल्न छाडन हुन्न भन्छु ।
१. अपराधीले जघन्य क्रूरतम अपराध गरेकै हो, उ कडा सजायको भागी हो । तर मृत्यु दण्ड ? यो जंगली अतिवाद हो । २१ औं शताब्दिमा आएर पनि आँखाको बदला आँखा, घाँटीको बदला घाँटी जस्तो असभ्य, जंगली अतिवादी विचारलाई कानुनी मान्यता दिनु अपरिपक्व र अविकसित दिमागको काम हो । वास्तविकता त यो छ क कतिपय अदालतका फैसला पनि गलत सावित भएका छन्, डाक्टरले गरेका अप्रेशन पनि गलत ठाममा भएका छन् । त्यसैले मानिसले त्रुटि गर्दैनन् भन्नु तृटीपूर्णछ । त्यसैले यदि कुनै कारण गलत फैसला भएर निर्दाेशलाई मृत्यु दिइयो भने फर्काउन सकिंदैन । त्यसैले जस्तै अपराधकालागि पनि अरू सजाय धेरै सोच्न सकिन्छ तर मृत्यु दण्ड २१ औ शताब्दिमा विश्वबाट अवैध गराउन पर्दछ । किन कि मानिसले जीवन दिन सक्दैन, लिन कसरी पाँउछ ? अतिबादी बिचारबाट आईसिस जन्मन्छ । बुद्ध र सनातन बेदको भूमीमा अतिबाद नमौलाओस् । मान्छेलाई क्रूरतम शासकले मात्र मृत्युदण्ड दिन्छन् । जसरी ईशाई युरोपियनहरूले साना–साना अपराधमा पनि मृत्यु दण्ड दिए ईतिहासमा, हिटलरले ग्यास च्याम्बर मै दस लाख मान्छे मार्याे । चिनमा अझै मृत्यु दण्डजस्तो पाशविक कानुन छ । सभ्य समाज बनाउन राज्यले मृत्यु दण्डलाई सदाका लागि अवैध गर्नु पर्छ । अतिवादीहरू यहाँ फेसबुकमा धेरै देख्छु, र म छक्क पर्छु ।
२. दण्डहिनताको उपचार मृत्यु दण्ड हुन सक्दैन । मृत्यु दण्डले संसारमा अपराध घटेको छैन, झनै समाजलाई क्रूर, जर्जर अमानविय बनाउँदै गएको छ । दण्डहिनता कसरी कम गर्ने र राज्य संचालकलाई नै कसरी नियममा बाँधने त्यसमा काम गर्न पर्छ, आवाज उठाउन पर्छ, तर मृत्युदण्ड हत्यारालाई पनि विवेकसंगत सजाय हुन सक्दैन । फेरि दण्डहिन राज्यमा सत्ताधारीले आफुमा लागू गर्न कानुन बनाउँदैनन् । मृत्युवरण गर्न पर्ने सर्वसाधारणले मात्र हो । केकुरा भुल्न हुँदैन भने हामी परफेक्ट समाजमा बस्दैनौ । त्यसैले दण्ड लागु गर्दा पनि गल्ति हुने छ कुन न कुनै बेला । मृत्यु कसैले सच्चाउन र क्षतिपुर्ति दिन नसक्ने कुरा भएकोले मानिसले बनाएका नियम कानुनमा यस्तो सच्याउन नसकिने, अपरिर्वतनीय कुरा राख्न मिल्दैन । अरूलाई तर्साउन यस्तो क्रूर दण्ड दिने विचार कसैले सोच्छन भने, के अरूलाई तर्साउन कसैको जीवन लिन जायज हुन्छ ? त्यो सोच्नु पर्छ ।
३. भारतमा आज बलात्कार गरि बालिका मार्नेलाई मृत्युदण्ड सजाय सुनाईयो । र मेडिया र जनसमुदायले नारा लगायो – सफिनामाथि न्याय भयो झ् मलाई दु:ख यसमा लाग्यो कि मानिसको चेतना कतिसम्म अविवेकी हुन्छ । के सफिनालाई बिउँताएर अब सामान्य जीवन दिन सक्यो अदालत र जनसमुदायले ? अनि एक बालिकाको ज्यान त गयो क्रूर अपराधीको कारण अनि थप अर्काे एउटा ज्यान ज्यान लिईयो झ् यसले कसरी मर्नेलाई न्याय भयो ? मर्नेमाथि त कहिल्यै पनि न्याय हुन सक्दैन, जसलाई हत्या गरियो, उसलाई के ले न्याय दिन सक्छ र ? जीवन छँदा मात्र न्याय अन्याय हुने हो । मृत्युदण्ड पाउनेलाई पनि दुख्दैन पोल्दैन, उसले त जेलमा बाँचेको भन्दा सुखै पाउँछ । सजाय त उसका परिवार, आमा बावु र सन्तानलाई हुने भयो । एउटा अपराधलाई अर्काे त्यस्तै अपराधले न्याय कहिल्यै हुँदैन, बरू थप अरूमाथि अन्याय थोपरिने छ । निरीह भारतीय कानुन र मूर्ख जनतादेखि दया लाग्यो । अपराधको दण्ड त उसलाई गलत बाटोबाट जोगाउन र बाँकी समाजलाई रक्षा गर्नका लागि धेरै गहन सोच साथ दिन पर्छ, एउटाका अपराधकालागि अरूलाई सजाय हुनेगरि दिन कसरी मिल्छ झ् मलाई अपराधिमाथि कत्ति पनि दया छैन । तर दु:ख त यस्तो जर्जर मृत्यु दण्ड जस्तो कानुन र अदालत प्रति छ । यस्तो निर्णय अतिबादीले मात्र सहि भन्न सक्छ । भारतीय अदालतले गरेको फैसला त्यहि समाजको जर्जर चेतना र अविवेकी स्वरूपको प्रतिविम्ब हो ।
२०७५ वैशाख १३ गते विहीबार क्राइम चेक साप्ताहिकमा प्रकाशित